बंगलादेशको राजधानी ढाकास्थित द फरेस्ट लाउन्जमा ‘नेपाली इन्टर्न्स एण्ड डक्टर्स रिसेप्सन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थी, इन्टर्न तथा स्नातकोत्तर तहका रेजिडेन्ट चिकित्सकसहित करिब १५० जना नेपाली चिकित्सकहरूको सहभागिता रहेको उक्त कार्यक्रम मित्रता, सांस्कृतिक आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार र आपसी एकताको सन्देश बोकेको विशेष समारोहका रूपमा सम्पन्न भएको हो।
वर्ल्ड वाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन-Worldwide Nepalese Students’ Organization (WNSO)–बंगलादेशको आयोजनामा, सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश (Society for Nepalese Doctors from Bangladesh (SNDB) को सहकार्य तथा Square फर्मास्युटिकल्स पीएलसी, बंगलादेशको उदार प्रायोजनमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम कोलोरेक्टल सर्जन डा. राकेश शाह रहनुभएको थियो। उहाँ हाल SNDB का संस्थापक अध्यक्ष हुनुका साथै नेपाल मेडिकल एसोसिएसन (NMA) र सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN) का कार्यकारी सदस्य हुनुहुन्छ। उहाँ WNSO–बंगलादेशका संस्थापक तथा पूर्व अध्यक्षसमेत हुनुहुन्छ। संस्थापकीय भूमिकापछि पनि उहाँले WNSO–बंगलादेशको अभिभावक तथा संरक्षकका रूपमा संगठन र बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हित, विकास र कल्याणका लागि निरन्तर मार्गदर्शन गर्दै आउनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. शाहले चिकित्सा शिक्षा पूरा गरेको पाँच वर्षपछि पुनः ढाका फर्किन पाउँदा अत्यन्त खुसी र भावुक भएको बताउनुभयो। बंगलादेशमा बिताएका विद्यार्थी जीवनका अविस्मरणीय क्षणहरू स्मरण गर्दै उहाँले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रा निर्माणमा बंगलादेशको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।
WNSO–बंगलादेशले नेपाली विद्यार्थी तथा चिकित्सकहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले गरेको यस पहलको प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्न सुझाव दिनुभयो। यस्ता जमघटले आपसी मित्रता, सांस्कृतिक सम्बन्ध, व्यावसायिक सञ्जाल तथा नेपाली विद्यार्थी र चिकित्सकबीच एकता र भाइचाराको भावना थप बलियो बनाउने उहाँको भनाइ थियो।
स्नातक तहको अध्ययन पूरा गरेपछि पनि एकअर्कासँगको सम्बन्ध र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले SNDB को भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरी नेपाल फर्कने नेपाली चिकित्सकहरूलाई आवश्यक सहयोग, मार्गदर्शन तथा व्यावसायिक सहजीकरण गर्न SNDB सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, युवा चिकित्सकहरूलाई एकआपसमा जोडिएर रहन, सहकार्य गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रमको सभापतित्व WNSO–बंगलादेशका वर्तमान अध्यक्ष डा. मुन्ना यादवले गर्नुभएको थियो। कार्यक्रममा SNDB का स्थानीय प्रतिनिधि डा. मनीष गुरमैताको पनि उपस्थिति रहेको थियो।
त्यसैगरी, स्क्वायर फर्मास्युटिकल्सका प्रतिनिधिहरू एमदादुल होक रसेल, डा. रेजाउल हसन खान लगायत कम्पनीका अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन स्क्वायर फर्मास्युटिकल्सको टोलीले महत्वपूर्ण सहयोग तथा योगदान पुर्याएको थियो। उनीहरूको सहभागिताले नेपाली विद्यार्थी तथा चिकित्सकहरूको हितका लागि संस्थागत सहकार्य र निजी क्षेत्रको सहयोगको महत्वलाई समेत उजागर गरेको थियो।
कार्यक्रममा नेपाली कला, संस्कृति र सांस्कृतिक प्रस्तुतिसहित खुला मञ्च, मनोरञ्जनात्मक खेलहरू, आकर्षक पुरस्कार तथा र्याफल ड्रको आयोजना गरिएको थियो। औपचारिक कार्यक्रमपछि बुफे डिनरको समेत व्यवस्था गरिएको थियो। सहभागीहरूले आपसमा भेटघाट, अनुभव आदानप्रदान तथा आत्मीयतापूर्ण वातावरणमा रमाउँदै साँझलाई स्मरणीय बनाए।
करिब १५० जना इन्टर्न, स्नातकोत्तर तहका रेजिडेन्ट तथा विभिन्न संस्थामा कार्यरत नेपाली चिकित्सकहरूको सहभागिताले यस कार्यक्रमलाई बंगलादेशमा रहेका नेपाली चिकित्सा समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित गरेको छ। यो कार्यक्रम केवल मनोरञ्जन र भेटघाटमा मात्र सीमित नरही व्यावसायिक एकता, संस्थागत सञ्जाल विस्तार र साझा पहिचानलाई थप सुदृढ बनाउने अवसरसमेत बनेको छ।
कार्यक्रमको सफल आयोजनाले WNSO–बंगलादेश र SNDB बीचको सहकार्य, आपसी विश्वास तथा नेपाली चिकित्सा समुदायप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। आयोजकले कार्यक्रमलाई सफल बनाउन उदार प्रायोजन तथा महत्वपूर्ण सहयोग प्रदान गरेकोमा स्क्वायर फर्मास्युटिकल्स पीएलसी, बंगलादेश प्रति विशेष आभार व्यक्त गरेका छन्।
कार्यक्रमले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी तथा चिकित्सकहरूबीच मित्रता, एकता, आपसी सहयोग र व्यावसायिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासहित सुखद सन्देश दिएको छ।








