त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) ले नियमित कार्यसमयमा अस्पताल आउन कठिनाइ हुने बिरामीहरूलाई लक्षित गर्दै सहज, सुलभ र समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विस्तारित अस्पताल सेवा (Extended Hospital Services – EHS) लाई विस्तार गरेको छ।
हाल यो सेवा आइतबारबाहेक सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन अपराह्न ४:०० बजेदेखि सञ्चालन हुँदै आएको छ। यस सेवामार्फत बिरामीहरूले लामो समयसम्म लाइनमा बस्नुपर्ने झन्झटबिना वरिष्ठ विशेषज्ञ चिकित्सकहरूसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिन सक्नेछन्। अस्पतालले निकट भविष्यमा यो सेवा आइतबारसमेत सञ्चालन गर्ने तयारी गरिरहेको छ।
त्रिवि शिक्षण अस्पतालका सहायक सूचना अधिकारी श्री कालीप्रसाद रोस्याराका अनुसार विस्तारित स्वास्थ्य सेवा छुट्टै भवनबाट सञ्चालन भइरहेको छ। यस सेवाअन्तर्गत बिरामीको दर्ता, टिकट, बिलिङ तथा विभिन्न प्रयोगशाला र रेडियोलोजिकल परीक्षणका लागि छुट्टाछुट्टै काउन्टरहरूको व्यवस्था गरिएको छ। यसले सेवा प्रवाहलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउनुका साथै बिरामीको प्रतीक्षा समय घटाउन सहयोग पुर्याएको छ।
यस सेवाअन्तर्गत वरिष्ठ विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच, विभिन्न चिकित्सकीय प्रक्रियाहरू तथा शल्यक्रियासम्बन्धी सेवा उपलब्ध छन।
यस सेवाको महत्वपूर्ण विशेषतामध्ये शल्यक्रिया सेवा पनि एक हो। चिकित्सकीय दृष्टिले शल्यक्रियाका लागि उपयुक्त ठहरिएका र शल्यक्रियापूर्व गरिने एनेस्थेसिया परीक्षण (Pre-Anaesthetic Check-up – PAC) पूरा गरेका बिरामीहरूको वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा तीन कार्यदिनभित्र शल्यक्रिया गर्न सकिने व्यवस्था गरिएको रोस्याराले जानकारी दिनुभयो।
विशेषगरी नियमित कार्यालय समयमा अस्पताल आउन नसक्ने कर्मचारी, व्यवसायी, पेसाकर्मी तथा व्यस्त कार्यतालिका भएका व्यक्तिहरू यस सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै, बिरामीहरूले छुट्टै सेवा प्रणालीमार्फत विशेषज्ञ चिकित्सकको परामर्श र आवश्यक स्वास्थ्य परीक्षण एकै दिनमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
आगामी दिनमा आइतबारसमेत यो सेवा विस्तार गर्ने योजनासहित त्रिवि शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने, लामो प्रतीक्षा समय घटाउने र विशेषज्ञ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
विस्तारित अस्पताल सेवाको विस्तार अस्पतालको सेवा गुणस्तर अभिवृद्धि गर्ने, स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने तथा सर्वसाधारणका लागि विशेषज्ञ स्वास्थ्य सेवालाई सहज, सुलभ र पहुँचयोग्य बनाउने संस्थागत प्रयासको महत्वपूर्ण हिस्सा हो।








