नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छ्न।
डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ खुलातर्फका ४५ केन्द्रीय सदस्यको कोटामा प्रतिस्पर्धी छन्। दुवै चिकित्सक लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। डा. केसी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुनुका साथै कांग्रेसको स्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सक्रिय छन्। कांग्रेसले हालै गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पनि डा. केसीलाई दिएको थियो।
त्यस्तैगरी संघका अर्का पूर्वअध्यक्ष डा. अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन्। डा. झा यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यका लागि मधेशी खुलातर्फ प्रतिस्पर्धा गरिसकेका छन्। १४औँ महाधिवेशनमा उनले ८०२ मत प्राप्त गरेपनि जितका लागि पर्याप्त भएन।
नेपाल चिकित्सक संघको नेतृत्वमा रहेर चिकित्सकका पेशागत तथा स्वास्थ्य क्षेत्रका विषयमा सक्रिय रहेका यी तीनै चिकित्सक कांग्रेसको संगठनमा पनि लामो समयदेखि जोडिएका छन्।








