नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो।
चिकित्सक संघमा आबद्ध सदस्य चिकित्सकहरूलाई विशेष डिजिटल, वित्तीय तथा स्वास्थ्यसम्बन्धी सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबिच सम्झौता भएको हो। यस सम्झौताअनुसार संघका सदस्यहरूले ‘खल्ती प्रो’ को वार्षिक सदस्यता विशेष अफरअन्तर्गत मात्र रु. २०० मा प्राप्त गर्न सक्नेछन्। केवाइसी प्रमाणित सदस्यहरूले यो सुविधामार्फत दैनिक भुक्तानीमा विभिन्न वित्तीय बचत र डिजिटल सेवाहरूको प्रत्यक्ष लाभ उठाउन सक्नेछन्।
चिकित्सकहरुले ‘खल्ती प्रो’ सदस्यता प्राप्त गरेपछि आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, दैनिक भुक्तानीमा दोब्बर दामी पोइन्ट्स, असीमित निःशुल्क खल्ती–टु–खल्ती ट्रान्सफर तथा महिनामा ५ पटकसम्म कुनै पनि बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्ने सुविधा पाउनेछन्। साथै, प्रो सदस्यता अवधिभर निःशुल्क खल्ती डिजिटल कार्ड, विभिन्न मर्चेन्ट तथा ब्रान्डहरूबाट विशेष छुट, बीमा सेवामा छुटसहितका उत्पादनहरू, ब्लुबुक सेवामा पिकअप तथा ड्रप सुविधा र ‘स्मार्ट डिपोजिट’ मार्फत लक्ष्यमा आधारित बचत गर्ने अवसरसमेत प्राप्त हुनेछ।
यस्तै निजी क्लिनिकहरूका लागि खल्ती क्युआर सुविधा र अनलाइन डाक्टर परामर्शका लागि खल्ती एपमै इन्टिग्रेसनको व्यवस्थासमेत गरिएको छ।
यस्तैगरी सम्झौतापश्चात् नेपाल चिकित्सक संघको नयाँ सदस्यता लिन चाहने चिकित्सकहरूले खल्ती एपबाटै सदस्यता शुल्क भुक्तानी गर्न सक्नेछन् भने संघद्वारा आयोजना गरिने विभिन्न सम्मेलन, कार्यक्रम तथा गतिविधिहरूमा सहभागी हुन आवश्यक शुल्क पनि खल्तीमार्फत नै सहजै तिर्न सकिनेछ। यो सहकार्यले चिकित्सकहरूलाई डिजिटल कारोबारमा सहजता, आर्थिक बचत र क्लिनिक सञ्चालनका आधुनिक माध्यमहरूसम्म पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारी, महासचिव डा. विश्वराज दवाडी, कोषाध्यक्ष डा. संयुक्ता आचार्य तथा कार्यकारी सदस्य डा. राकेश शाहले हस्ताक्षर गर्नुभएको थियो।
आइएमई खल्ती लिमिटेडका तर्फबाट चीफ बिजनेस अफिसर आशिष गौतम, चीफ अपरेटिङ अफिसर पुष्पराज न्यौपाने, हेड–युजर ग्रोथ दिनेश वस्ती, हेड–बिजनेस रिलेसनसिप एन्ड कर्पोरेट अफेयर्स निरज कार्की र बिजनेस अपरेसन अफिसर अनिशा श्रेष्ठले हस्ताक्षर गरेका छन्।






