नेपाल चिकित्सकको संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट अध्यक्षमा डा. बद्री रिजाल र महासचिवमा डा विश्वराज दवाडी निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार डा. रिजालले ३१९६ मत ल्याएर निर्वाचित भएका छ्न। उनका निकतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २९४० मत प्राप्त गरे । डा. रिजालले २५६ मतान्तरको फरकले डा. मंगल रावकलाई पराजित गरेका छ्न । यस्तै, तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ८६९ मत ल्याए ।
वरिष्ठ उपाध्यक्ष र महासचिवसहित अधिकांश पदहरुमा डा. बद्रीको टिममा उम्मेदवार विजयी भएका छन् । यस पटक डा. मंगल टिमले एनएमएमा दुई उपाध्यक्ष र दुईसदस्यमा जित हासिल गरेको छ । वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी ३०३६ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २३०२ मत प्राप्त र डा. अजयकुमार मिश्रले १४२१ मत प्राप्त गरेका छन् ।
यस्तै महासचिवमा डा. विश्वराज दवाडीले २७२२ मत लिएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. कालुसिह खत्रीले २४२३ मत पाए । महासचिवका अर्का उम्मेदवार डा. अमृत भुसालको १६४६ मत आएको छ। 
यस्तैगरी प्रदेश संयोजक (उपाध्यक्ष) हरुमा कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुवास भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी विजयी भएका छन् । कोशीमा उपाध्यक्षमा विजयी भएका डा. खड्काले ३००८ मतका ल्याए भने उनका प्रतिस्पर्धी डा. टंक बाराकोटी २२३६ मत र डा. हरिशंकर कार्की ४९४ मत ल्याए । मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र ३०९९ मतका साथ विजयी भए । उनका मुख्य प्रतिस्पर्धी डा. उदयनारायण सिंह २०९४ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका डा. मोहम्मद अनमुल हक ९४३ मत पाए ।
यस्तै बागमती प्रदेशको उपाध्यक्षको लागि कडा प्रतिस्पर्धा भएको थियो । डा. बद्री टिमका डा. सुवास भट्टराईले २३५९ मतका साथ बाजी मार्न सफल भए । डा. अरुण शाही २२५० मतका साथ दोस्रो स्थानमै सिमित भए। डा. शाही डा. मंगल टिमका हुन। बागमतीबाट अन्य उपाध्यक्षका उम्मेदवारहरु डा. एकानन्द सिंह १२२१ र डा. रुबशनाथ योगीले ६८६ मतका ल्याए । गण्डकी प्रदेशमा भने डा. मंगल टिमबाट उपाध्यक्षमा डा. यज्ञराज सिग्देल ३१०२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी डा. नवराज लम्डारी २८०० मत ल्याए । लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ २९१० मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी डा. सन्तोष पोखरेल २२४२ मत पाए । डा. लक्ष्मण शर्मा ११२३ मत ल्याए ।
यस्तै कर्णाली प्रदेशको उपाध्यक्षमा डा. मंगल टिमका डा. रविन खड्काके २४९० मतका साथ विजयी भएका छ्न । उनलाई डा. सरोज गिरीले २३२२ मतका साथ कडा टक्कर दिएका थिए। डा. अनुपमंगल समाल १२५७ मत ल्याएका छ्न।
यस्तै सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रमोद जोशी ३४८० मत ल्याएर विजयी भएका छ्न भने डा. निरज अर्यालले २६१२ मत ल्याएका छ्न। कोषाध्यक्षमा संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह—कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल निर्वाचित भएका छ्न।
यस्तै संघको केन्द्रीय सदस्यहरुमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज घिमिरे विजयी भएका छन् ।
एनएमएमा यसपटक काठमाडौं उपत्यका र बाहिर गरेर ७१०२ मत खसेको थियो । यस कार्यसमितिको अवधी ३ वर्षको रहनेछ।






