स्वास्थ्य प्रवर्द्धनलाई राज्यले स्वास्थ्य क्षेत्रको विकासमा महत्वका साथ अगाडि बढाउनु पर्ने र यसमा सबै पक्षको साझा प्रयास हुनु पर्ने लगायतका १४ बुदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन शनिबार सम्पन्न भएको छ ।
शुक्रबारदेखि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन भएको सम्मेलनको अन्तिम दिन स्वास्थ्य शिक्षाका क्षेत्रमा भएका करिव एक दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गरेकी थिइन । “स्वास्थ्य प्रवद्र्धनलाई एउटा गतिविधिका रूपमा मात्र होइन, एक स्वतन्त्र विधाका रूपमा बुझौँ” भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।
प्रथम सम्मेलन सफल भएको र भविष्यमा पनि यसले निरन्तरता पाउने आयोजक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष हेमराज खड्काले बताउनु भयो।
सम्मेलनमा सहभागी भएर यसको महत्व बढाउनमा सहयोग गर्ने स्वास्थ्य तथा खाद्य स्वच्छा मन्त्री निशा मेहता सहित विज्ञहरु, सहभागीहरु र सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्दै खड्काले नेपालमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना गर्नु ऐतिहासिक भएकोमा जोड दिनुुुभयो।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले स्वस्थ्य समाज निर्माणका लागि स्वास्थ्य प्रवर्द्धन लाई सरकारले प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाइरहेको बताइन । सम्मेलन सफल बनाउन सहयोग गर्नु सबैलाई धन्यवाद ज्ञापन गर्दै सबैको संयुक्त प्रयासबाट मात्र यस स्वास्थ्य शिक्षाका अभियान पुरा हुने डा. थपलियाले बताइन । सम्मेलनमा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा योगदान गरेका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका पुर्व निर्देशकहरु लक्ष्मीरमण बन, लक्ष्मीनारायण सिह लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।








