नेपालका नाक, कान तथा घाँटी रोग विशेषज्ञहरूको छाता संस्था सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपालको दशौँ राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीस्थित रामदा होटलमा सुरु भएको छ।
मंसिर ५ र ६ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन्।
‘एड्भान्सिङ ईएनटी केयर: इनोभेसन एक्सेसिबिलिटी एन्ड एक्सिलेन्स’ भन्ने मूल भावनाका साथ आयोजना गरिएको यस सम्मेलनको सभापतित्व सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्सका अध्यक्ष प्रा. डा. रविन्द्रभक्त प्रधानाङ्गले गरेका छन्। आयोजक समितिका अध्यक्ष डा. योगेश न्यौपानेले सम्मेलनको महत्त्वबारे जानकारी गराए।
नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने, नवीनतम प्रविधि तथा उपचार पद्धतिबारे ज्ञान आदानप्रदान गर्ने र विशेषज्ञहरूबिच शैक्षिक तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा २५० भन्दा बढी स्वदेशी र ८ जना विदेशी नाक, कान तथा घाँटी रोग विशेषज्ञ, प्राध्यापक, वरिष्ठ तथा रेजिडेन्ट चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहभागिता रहनेछ। सम्मेलनमा ईएनटी तथा हेड एन्ड नेक सर्जरीका विभिन्न विधामा १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
सम्मेलनमा युवा चिकित्सक तथा रेजिडेन्टहरूलाई विशेष प्राथमिकता दिइएको छ। उनीहरूका लागि व्यावहारिक सीप अभिवृद्धि गर्ने कार्यशाला, शल्यचिकित्सासम्बन्धी व्यावहारिक सत्र, अनुसन्धानमूलक लेख तथा पोस्टर प्रस्तुतीकरण र विभिन्न शैक्षिक प्रतिस्पर्धाका अवसरहरू उपलब्ध गराइने आयोजकले जनाएको छ। यसले नयाँ पुस्ताका ईएनटी विशेषज्ञहरूको क्षमता विकास तथा अनुसन्धान संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास लिइएको आयोजक समितिका अध्यक्ष डा. योगेश न्यौपानेले जानकारी दिनुभयो।
काठमाडौं उपत्यका बाहिर पनि राष्ट्रियस्तरका चिकित्सा तथा शैक्षिक कार्यक्रम आयोजना गर्न सकिने सम्भावना उजागर गर्नुका साथै यसले कोशी प्रदेश र पूर्वी नेपालको स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको डा. न्यौपानेले बताए।








