दम (सीओपीडी) तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगबाट पीडित बिरामीको जीवनस्तर सुधार गर्ने उद्देश्यले नेशनल चेस्ट सेन्टरले नेपालमै पहिलोपटक पल्मोनरी रिह्याबिलिटेसन (फोक्सो पुनर्स्थापना) सेवा सुरु गरेको छ ।
चेस्ट सेन्टरले औषधी कम्पनी सिप्लासँगको सहकार्यमा सुरु गरेको यो सेवा हाल निःशुल्क उपलब्ध गराइरहेको छ । दमका कारण हिँडडुल गर्न, सामान्य काम गर्न र दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका बिरामीलाई शारीरिक रूपमा सक्रिय तथा आत्मनिर्भर बनाउनु सेवाको मुख्य उद्देश्य रहेको छ ।
छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार दमका बिरामीले सास फेर्न गाह्रो हुने डरले शारीरिक गतिविधि कम गर्दा शरीरको सहनशीलता र फोक्सोको कार्यक्षमता थप कमजोर हुँदै जादा यो अवस्था सुधार गर्न पल्मोनरी रिह्याबिलिटेसन प्रभावकारी हुने छ ।
डा. पंगेनीले उचित परामर्श, नियमित औषधी सेवन, इनहेलरको सही प्रयोग र जीवनशैली व्यवस्थापनसँगै पुनस्र्थापना अभ्यास गर्न सके दमका धेरै बिरामीले सामान्य जीवनयापन गर्न सक्ने बताउनुभयो ।
डा. पंगेनीका अनुसार यो सेवा व्यायाममा मात्र सीमित नभई औषधिको सही प्रयोग, पोषण, मानसिक स्वास्थ्य र अन्य रोगको व्यवस्थापनसमेत समेटिएको उपचार पद्धति हो ।
चेस्ट सेन्टरकी फिजियोथेरापिस्ट डा. दीक्षा गौतमका अनुसार बिरामीको स्वास्थ्य अवस्था र शारीरिक क्षमताको मूल्याङ्कन गरेर व्यायाम तथा फिजियोथेरापीको योजना बनाइन्छ । सुरुमा रक्तचाप, नाडीको गति र रगतमा अक्सिजनको मात्रा जाँच गरी श्वासप्रश्वास अभ्यास, छाती फैलाउने व्यायाम तथा खकार निकाल्न सहयोग गर्ने प्रविधि प्रयोग गरिन्छ ।
डा. गौतमका अनुसार बिरामीले सुरुमा अस्पतालमै अभ्यास सिकेपछि आवश्यक निर्देशनअनुसार घरमै पनि निरन्तरता दिन सक्नेछन् । उहाँले सेन्टरले हालसम्म सेवा लिएका ३० जनामध्ये १० देखि २० प्रतिशत बिरामी थप अभ्यास सिक्न र नियमित अभ्यासलाई निरन्तरता दिन पुनः सम्पर्कमा आएको जानकारी दिईन।
श्वासप्रश्वास रोग विशेषज्ञ डा. पंकज देवका अनुसार यो सेवा दमका बिरामीका अतिरिक्त अन्य दीर्घ श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि पनि उपयोगी हुन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षणअनुसार नेपालमा करिब १३ प्रतिशत जनसंख्यामा दमसम्बन्धी समस्या रहेको छ । कर्णाली प्रदेशमा यस्तो समस्या करिब २५ प्रतिशत देखिएको थियो ।
सेन्टरका अध्यक्ष मधु घिमिरेले औषधी सेवनसँगै पुनस्र्थापना सेवालाई पनि उपचारको महत्त्वपूर्ण अङ्ग बनाउनुपर्ने बताउनुभयो । घिमिरेले बिरामीलाई शारीरिक रूपमा सक्रिय, आत्मनिर्भर र सहज जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिनुभयो।








