सुदूरपश्चिम सरकारले शैक्षिक सत्र २०८३/८४ का लागि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति कार्यक्रमअन्तर्गत योग्य विद्यार्थीबाट आवेदन आह्वान गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
यसमा एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (छैटौँ संशोधनसहित) बमोजिम कुल ९ सिटमध्ये खुलातर्फ ५ र समावेशीतर्फ ४ सिट निर्धारण गरिएको छ।
यस्तै समावेशी समूहअन्तर्गत महिलाका लागि १, आर्थिक रूपमा विपन्न खस आर्यका लागि १, आदिवासी जनजातिका लागि १ र पिछडिएको क्षेत्रका लागि १ सिट छुट्याइएको मन्त्रालयले जनाएको छ।
छात्रवृत्तिमा छनोट हुने विद्यार्थीलाई नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि निर्धारण गरेको कुल शिक्षण शुल्कबराबरको रकम किस्ताबन्दीमा उपलब्ध गराइनेछ।








