ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ६१ औं वार्षिकोत्सवका अवसरमा संघको अनुरोधमा दृष्टि आइकेयर सिष्टम, दृष्टि नाक, कान, घाँटी उपचार केन्द्र र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार ब्युरोसँगको प्राविधिक सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बैंकका कर्मचारी, पदाधिकारी तथा सेवाग्राहीहरू गरी कुल २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। यसैगरी, मानवीय सेवाको भावसहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७० जना रक्तदाताहरूले उत्साहजनक रूपमा रक्तदान गर्नुभएको थियो।
स्वास्थ्य शिविरमा ओम हस्पिटलका वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले जनरल मेडिसिन (सामान्य चिकित्सा), मुटुरोग, मधुमेह, तथा स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेको थियो। साथै, दृष्टि आइकेयर र दृष्टि नाक, कान, घाँटी उपचार केन्द्रका विशेषज्ञहरूबाट आँखा र नाक, कान, घाँटी सम्बन्धी विशेष परामर्श, परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएको थियो। परीक्षणका क्रममा सहभागीहरूलाई स्वास्थ्य सचेतना सम्बन्धी परामर्श समेत प्रदान गरिएको थियो।
विगत तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी निजी क्षेत्रको अस्पताल, ॐ हस्पिटलले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई वहन गर्दै विभिन्न संघ-संस्थाहरूसँगको सहकार्यमा यस्ता लोककल्याणकारी, स्वास्थ्य सचेतनामूलक तथा सेवामूलक कार्यक्रमहरूलाई निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।
नेपालको अग्रणी वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंक र प्रतिष्ठित स्वास्थ्य सेवा प्रदायक ॐ हस्पिटलको यो संयुक्त र प्रसंशनीय मानवीय पहलले संस्थागत सामाजिक उत्तरदायित्को एक उत्कृष्ट र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।






