ॐ हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. र ह्याप्पी होम योग केन्द्र (टोखा नगरपालिका-११, काठमाडौँ) को संयुक्त आयोजनामा शनिवार एक दिवसीय नि:शुल्क स्वास्थ्य परीक्षण शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
गोंगबु सुपरमार्केट पछाडि रहेको ह्याप्पी होम मन्टेश्वरी स्कूलको प्राङ्गणमा संचालन गरिएको शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा २०० भन्दा बढी स्थानीय नागरिकहरूले निशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्नुभएको थियो। कार्यक्रममा जनरल हेल्थ चेकअप, उच्च रक्तचाप, मधुमेह (सुगर) तथा स्त्री र प्रसुती रोग सम्बन्धी विशेष परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
त्यसैगरी ॐ हस्पिटल ब्लड बैंकको अगुवाइमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमको समापनमा सेवामुखी कार्यमा पुर्याएको योगदानको कदर गर्दै आयोजक टोखा नगरपालिका-११ स्थित ह्याप्पी होम योग केन्द्रका पदाधिकारीहरूद्वारा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीलाई विशेष सम्मान गरिएको थियो।
स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउने र रक्तदान सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।






