ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आज फाइब्रोस्क्यान (FibroScan) तथा कलेजो रोगको आधुनिक परीक्षण सम्बन्धी विशेष Continuing Medical Education (CME) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अस्पतालका वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. राहुल पाठकले चिकित्सक तथा नर्सिङ स्टाफहरुलाई फाइब्रोस्क्यान परीक्षणको महत्व, प्रयोग विधि तथा यसको क्लिनिकल उपयोगिताबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
डा. पाठकले फ्याटी लिभर, हेपाटाइटिस बी, तथा सी, लिभर फाइब्रोसिस र सिरोसिस जस्ता कलेजो सम्बन्धी समस्याको प्रारम्भिक पहिचान तथा नियमित निगरानीमा फाइब्रोस्क्यान प्रभावकारी र पीडारहित परीक्षण भएको उल्लेख गर्नुभयो । साथै, बिरामीको अवस्था मूल्यांकनमा यस प्रविधिले लिभर बायोप्सीको आवश्यकता कम गर्न सहयोग पुर्याउने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी चिकित्सक तथा नर्सिङ स्टाफहरुले फाइब्रोस्क्यान परीक्षण प्रक्रिया, रिपोर्ट विश्लेषण तथा बिरामी व्यवस्थापन लगायतका बिबिध विषयमा जानकारी हाँसिल गर्नुभएको थियो ।
कार्यक्रमले अस्पतालमा कलेजो रोग सम्बन्धी सेवा थप प्रभावकारी, आधुनिक तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
ॐ हस्पिटलमा हालसालै भित्रिएका दुईवटा उच्च प्रविधिका मेसिनहरु फोर के एण्डोस्कोपी टावर तथा फाइब्रोस्क्यान बारे जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले प्रविधि पूर्वाधार र विरामीको उपचारमा आवश्यक सेवा सुविधालाई ॐ हस्पिटलले सधै झैं उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता दोहोर्याउनुभयो । उहाँले पेट तथा कलेजो उपचारमा यसले ॐ हस्पिटललाई थप उचाई हाँसिल गर्न सहयोग पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
ॐ हस्पिटलका संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ लगायतका उच्च व्यवस्थापनका अधिकारीहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा अस्पतालका नन मेडिकल स्टाफहरुको पनि उलेख्य उपस्थिति रहेको थियो ।






