काठमाडौं महानगरपालिका वडा नं. ७, लामपोखरीस्थित माता पिता सेवा सदनमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सामुदायिक प्रहरी सेवा केन्द्र, चावहिलको संयुक्त पहल तथा प्राविधिक सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो।
जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यस शिविरमा स्थानीय क्षेत्रका ११० जना वृद्धवृद्धाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य परिक्षण सेवा लिनुभएको छ।
शिविरमा ॐ हस्पिटलका विशेषज्ञ चिकित्सक टोलीद्वारा जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, जनरल सर्जरी र नाक–कान–घाँटी सम्बन्धी रोगहरूको विस्तृत परीक्षण गरिएको थियो। साथै, बढ्दो उमेरसँगै देखिने मधुमेह (सुगर) र उच्च रक्तचाप (ब्लड प्रेसर) को समेत विशेष जाँच गरी आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
आफ्नै टोल–छिमेकमा विशेषज्ञ चिकित्सकहरूबाट सेवा पाउँदा स्थानीय जेष्ठ नागरिकहरूमा निकै उत्साह देखिएको थियो। सामुदायिक प्रहरी सेवा केन्द्र र अस्पतालको यो सामाजिक कार्यले स्वास्थ्य सेवाको पहुँचलाई थप सहज बनाएको सहभागीहरूले बताए।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले जेष्ठ नागरिकहरूको सम्मान र स्वास्थ्य सुरक्षाका लागि आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।






