काठमाडौंमा नेप्लिज एसोसिएसन अफ ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
एक दिवसीय उक्त सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. अंकिता ठाकुरले गरेकी थिइन् ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद डा. ठाकुरले मुख तथा दन्त स्वास्थ्यको क्षेत्रमा राज्यले अझै विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। डा. ठाकुरले यस क्षेत्रमा विज्ञहरूको अभावलाई पूर्ति गर्न ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको सरकारी दरबन्दी थप गर्न सरकारको ध्यानाकर्षण गराउने आश्वासन समेत दिइन्।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य एवंम नेपाल डेन्टल एसोसिएका अध्यक्ष डा. अजय साहले दन्त चिकित्सामा ओरल प्याथोलोजिष्टहरूको विशिष्ट भूमिका र महत्वबारे चर्चा प्रष्ट पार्नुभयो।
सम्मेलनको प्राविधिक पक्षबारे जानकारी दिँदै आयोजक समितिका सदस्य एवं नेपाल डेन्टल एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारीले कार्यक्रममा नेपाल, भारत र नर्वेका विशेषज्ञहरूले १६ वटा शोधपत्र (पेपर) र २० वटा पोस्टर प्रस्तुत गरेको जानकारी दिनुभयो।
डा. भण्डारीले यस सम्मेलनले ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजीको क्षेत्रमा भइरहेका नवीनतम अनुसन्धान र विकसित उपचार पद्धतिबारे ज्ञान आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। सम्मेलनमा देशभरीका विज्ञ, अनुसन्धानकर्ता र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।







