पोखरा, २९ चैत २०७८
अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापना सम्बन्धी कास्की जिल्लाका मेडिकल अधिकृतहरुका लागि पोखरामा प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकुको आयोजना तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच दिने प्रशिक्षक–प्रशिक्षण तालिम सुरु भएको हो ।
खासगरी अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ र उनीहरुको पुनःस्थापनामा चिकित्सकहरुको भूमिका कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर तालिमको आयोजना गरिएको तालिम संयोजक समेत रहनु भएका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र गिरीले जानकारी दिनुभयो ।
यस प्रशिक्षण तालिम लिनुभएका मेडिकल अधिकृत ज्यूहरु मार्फत प्राथमिक स्वास्थ्य तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पुनःस्थापनाको ज्ञान तथा सीप बढाउने तालिम निकट भविष्यमा गरिने गिरीले बताउनुभयो।
कुन प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो प्रकारको सहायक सामाग्री आवश्यक पर्ने हो ? ती सामाग्रीको प्रयोग कसरी गर्न सकिन्छ ? त्यसको नापजाँच गर्नेदेखि लिएर अपाङ्गता परिचयपत्र वितरणमा कुन प्रकारको अपाङ्गता भएका व्यक्तिलाई कुन खाले परिचयपत्रको सिफारिस गर्नेसम्मको बारेमा मेडिकल अधिकृतहरुले तालिममा सिक्ने छन् । त्यस्तै गरी दीर्घकालीन तथा अल्पकालिन अपाङ्गताको पुनर्स्थापना मार्फत व्यक्तिगत कार्यक्षमता कसरी अभिवृद्धि गर्ने भन्ने शिक्षा यस तालिमले दिनेछ।
कास्की जिल्लाका विभिन्न अस्पतालहरुमा कार्यरत २२ जना मेडिकल अधिकृत सहभागी तालिम पाँच दिनसम्म चल्नेछ ।
स्वास्थ्य कार्यालय प्रमुखको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वास्थ्य कार्यालयका प्रमुखले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तैगरि राष्ट्रिय अपाङ्ग महासंघबाट उपस्थित देवकुमारी पराजुलि ज्युले कसरी सेवाग्राही मैत्री स्वास्थ्य तथा पुनर्स्थापना सेवा दिन सकिन्छ भन्नेबारे प्रष्ट पार्नुभएको थियो।
अपाङ्गता व्यवस्थापन तथा पुनःस्थापनाका सवालमा विशेषज्ञता हासिल गर्नुभएका डा. राजु ढकाल, अमितरत्न बज्राचार्य, खड्कसिंह गुरुङ, विश्व स्वास्थ्य संगठनका सुनिल पोखरेलले तालिमको सहजिकरण गर्नुभएको थियो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ अधिकृत एवं अपांगता फोकल पर्शन लक्ष्मण बसौलाले जानकारी दिनुभयो ।