त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) को आयोजनामा २०८३ साल कात्तिक १४ देखि १६ गते (३१ अक्टोबरदेखि १ नोभेम्बर २०२६) सम्म पार्क भिलेज होटल एण्ड रिसोर्टमा स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा (Quality Improvement and Patient Safety) सम्बन्धी तीनदिने कार्यशाला आयोजना गरिएको छ।
देशभरिका २६ वटा मेडिकल कलेज तथा अस्पतालबाट ६४ जना सहभागीहरू यस महत्वपूर्ण कार्यशालामा सहभागी भइरहेका छन्। साथै, भारतको भेलोर र बंगलादेशबाट आएका विषयविज्ञहरूले पनि आफ्नो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासहरू आदानप्रदान गरिरहेका छन्।
नेपालको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, बिरामीको सुरक्षा सुनिश्चितता तथा स्वास्थ्य सेवामा हुन सक्ने त्रुटि र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यो एक महत्वपूर्ण राष्ट्रियस्तरको पहल हो।
वर्तमान समयमा नेपालको स्वास्थ्य क्षेत्रमा अस्पताल, शय्या, उपकरण तथा स्वास्थ्य संस्थाहरूको संख्यात्मक विस्तारमा बढी ध्यान केन्द्रित भइरहेको देखिन्छ। तर, स्वास्थ्य सेवाको विस्तारसँगै त्यसको गुणस्तर र बिरामीको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनु आवश्यक छ।
अस्पताल र स्वास्थ्य संस्थाहरूको संख्या बढाउनु मात्र पर्याप्त हुँदैन। प्रत्येक बिरामीले सुरक्षित, प्रभावकारी, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु पनि उत्तिकै महत्वपूर्ण छ।
बिरामी सुरक्षा स्वास्थ्य सेवाको गुणस्तरको अभिन्न अंग हो, यो कुनै वैकल्पिक विषय होइन।
यस प्रकारका कार्यक्रमले स्वास्थ्य संस्थाहरूमा गुणस्तर सुधारको संस्कृतिको विकास गर्न, संस्थागत जवाफदेहिता अभिवृद्धि गर्न, एकअर्काका अनुभव तथा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न र बिरामीलाई हुन सक्ने रोकथामयोग्य हानि न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
यस महत्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमको सुरुवात तथा संस्थागत पहल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुभाष प्रसाद आचार्यज्यूबाट भएको हो। साथै, अस्पतालका सहायक निर्देशक एवं गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइका प्रमुख प्रा. डा. पवनराज चालिसेज्यूको सक्रिय पहल, नेतृत्व र समन्वयमा यो महत्वपूर्ण कार्यशाला आयोजना भएको हो।
अब नेपालको स्वास्थ्य क्षेत्र केवल सेवाको संख्यात्मक विस्तारमा मात्र सीमित नभई गुणस्तरीय, सुरक्षित र बिरामीमैत्री स्वास्थ्य सेवाको रूपान्तरणतर्फ अगाडि बढ्न आवश्यक छ।
गुणस्तरीय स्वास्थ्य सेवा भनेको बिरामीको रोगको उपचार गर्नु मात्र होइन, उपचारका क्रममा हुन सक्ने अनावश्यक जोखिम र हानिबाट बिरामीलाई सुरक्षित राख्नु पनि हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सम्माननीय प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश प्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रीका सल्लाहकार प्रा. डा. मनोहर प्रधान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेल तथा वरिष्ठ चिकित्सक प्रा. डा. भगवान कोइरालाज्यूले आफ्नो महत्वपूर्ण मन्तव्य राख्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार, बिरामी सुरक्षा, संस्थागत जवाफदेहिता तथा स्वास्थ्य क्षेत्रमा हासिल गरेका अनुभवहरू सहभागीहरूसँग आदानप्रदान गर्नुभएको थियो। उहाँहरूका विचार, अनुभव र सुझावले नेपालको स्वास्थ्य प्रणालीलाई अझ सुरक्षित, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ।








