बालरोग विभागमा Acute Diarrhea Research Project (ADRP) का रूपमा सुरु भएको बाल स्वास्थ्य अनुसन्धान परियोजना (CHRP) ले तीन दशकको अवधिमा मातृ तथा बाल स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नर्वेको University of Bergen सँगको दीर्घकालीन सहकार्यमा विकसित यस परियोजनाले झाडापखाला, निमोनिया, सूक्ष्म पोषक तत्त्वको कमी, बाल विकास, खोप, वातावरणीय प्रदूषण तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य विषयमा दर्जनौँ अनुसन्धान सञ्चालन गरेको छ। WHO, Johns Hopkins University, CDC लगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यले यसको अनुसन्धानलाई विश्वव्यापी स्वास्थ्य क्षेत्रमा समेत जोडेको छ।
यस परियोजनाका अनुसन्धान निष्कर्षले बालबालिकाको झाडापखालामा जिंक प्रयोगसम्बन्धी WHO/UNICEF सिफारिस, खोप नीति, बाल पोषण तथा संक्रमणसम्बन्धी वैज्ञानिक ज्ञानमा योगदान पुर्याएका छन्। साथै, परियोजनाले नेपालमा बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता उत्पादन, चिकित्सा शिक्षा र अनुसन्धान क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
तीन दशकको यो यात्रा नेपालमा अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र वैज्ञानिक प्रमाणमा आधारित स्वास्थ्य सेवाको विकासमा एउटा महत्वपूर्ण उपलब्धि बनेको छ।
कार्यक्रममा नेपालका लागि नर्वेकी राजदूत महामहिम Dagny Mjas, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. मोहनराज शर्मा तथा बालरोग विभागका विभागीय प्रमुख प्रा.डा. सुधा बस्नेतले बाल स्वास्थ्य अनुसन्धान परियोजना (CHRP) को योगदान, उपलब्धि, महत्व तथा नेपालको बाल स्वास्थ्य अनुसन्धान, शैक्षिक विकास र जनस्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
बाल स्वास्थ्य अनुसन्धान परियोजना (CHRP) को ३०औँ वार्षिकोत्सव २०८३ मंसिर १३ गते मनाइएको थियो। उक्त अवसरले तीन दशक लामो अनुसन्धान यात्रा, वैज्ञानिक सहकार्य, ज्ञान निर्माण, अनुसन्धान क्षमता विकास तथा बाल स्वास्थ्य सुधारका क्षेत्रमा परियोजनाले पुर्याउँदै आएको योगदानलाई स्मरण गर्नुका साथै आगामी दिनमा अनुसन्धानका नयाँ सम्भावना र प्राथमिकताहरूबारे चर्चा गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमको उद्घाटन सन् २०१५ को विनाशकारी भूकम्पमा सुरक्षित उद्धार गरिएका बालक सुबोध अवालले गर्नुभएको थियो। उक्त कार्यक्रम बाल स्वास्थ्य अनुसन्धान परियोजना (CHRP) को ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा परियोजनाले तीन दशकदेखि बाल स्वास्थ्य अनुसन्धान, शैक्षिक सहकार्य तथा नेपालको जनस्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानको स्मरण र सम्मान गरिएको थियो।








