किष्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित संस्था मेदान्त गुरुग्रामबीचको चिकित्सकीय विशेषज्ञता र उपचार सेवा सम्बन्धी सहकार्यको एक वर्ष पूरा भएको छ ।
शुक्रबार सहकार्य एक वर्ष पुगेको अवसरमा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा एक समारोह र निरन्तर चिकित्सा सिकाई (सिएमई)को आयोजना गरिएको थियो ।
‘रिसेन्ट एडभान्स इन कार्डियाक सर्जरी एण्ड चेष्ट सर्जरी’ विषयमा केन्द्रीत सिएमईमा विशेषज्ञ चिकित्सकहरुबीच ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्त ग्रुप अफ हस्पिटल्सका अध्यष एवं प्रबन्ध निर्देशक पद्यभूषण डा. नरेश त्रेहान अतिथी तथा प्रमुख वक्ताका रुपमा सहभागी थिए ।
डा. त्रेहानले ‘एआई इन कार्डियाक केयर’ विषयमा आफ्नो विशेषज्ञ प्रस्तुती दिएका थिए । त्यसैगरी, मेदान्त इन्टिच्युट अफ चेष्ट सर्जरीका अध्यक्ष डा. अरविन्दकुमारले ‘चेष्ट सर्जरी: अ भिडियो ओभरभ्यू’ विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वास्थ्य मन्तव्य राखेका थिए । प्रा.डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए । किष्ट शिक्षण अस्पताल र मेदान्तबीचको एक वर्षे सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय विशेषज्ञताको पहुँचसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यस सहकार्यमार्फत बिरामीले किष्ट शिक्षण अस्पतालबाट मेदान्तका अनुभवी विशेषज्ञ चिकित्सकसँग सेकेण्ड मेडिकल ओपनियन तथा टेलिमेडिसिन कन्सल्टेसन प्राप्त गर्न सक्ने सुविधा रहेको अस्पतालले जनाएको छ । यसले जटिल स्वास्थ्य समस्यामा विशेषज्ञ परामर्श प्राप्त गर्न समय, खर्च तथा विदेश यात्राको झन्झट न्यूनीकरण गर्न सहयोग पुर्याउने विश्वास किष्टको छ । किष्ट शिक्षण अस्पतालले आफ्नो आफ्नो विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक उपचार पूर्वाधार तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ अघि बढिरहेको छ।








