नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित ६० जना परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ
गत २३ साउनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यलाई शनिबार संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो।
संघका अध्यक्ष डा. बद्री रिजालको सभापतित्वमा भएको कार्यक्रममा पूर्वअध्यक्ष डा. मणिन्द्ररञ्जन बराल प्रमुख अतिथि रहेका थिए। प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरेका हुन।
कार्यक्रममा पूर्व अध्यक्ष डा. बरालले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन संघले मार्गनिर्देशक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो। डा. बरालले चिकित्सकको पेसागत हकहित र अधिकार संरक्षणसँगै आम नागरिकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
चिकित्सक संघका अध्यक्ष डा. रिजालले नवनिर्वाचित सदस्यले संघको गरिमा र प्रतिष्ठा अभिवृद्धि हुने गरी जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
उक्त अवसरमा गत कात्तिक १४ गते आयोजित अन्तर अस्पताल फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा काठमाडौं मोडल अस्पताल विजेता र एड्रेनालिन एफसी (सशस्त्र प्रहरी बल अस्पताल) उपविजेता बनेका थिए। विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगितामा १२ अस्पताल तथा स्वास्थ्य संस्थाका टोली सहभागी थिए। काठमाडौं मोडल अस्पतालका डा. राजभाई डंगोल उत्कृष्ट गोलरक्षक, डा. रामचन्द्र भण्डारी सर्वाधिक गोलकर्ता र डा. सूर्यकिरण लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए।








