नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं शाखाले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्न आग्रह गरेको छ।
प्रतिनिधि संघले जारी गरेको विज्ञप्तिमा सिभिल अस्पताल, वीर अस्पताल र टिचिङ अस्पताललगायतका स्वास्थ्य संस्थाले औषधि प्रतिनिधिको भ्रमणमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार यस्तो निर्णयले औषधि प्रतिनिधिहरूको नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरेको छ।
संघले विगतदेखि नै औषधि प्रतिनिधिको भ्रमणलाई व्यवस्थित बनाउन विभिन्न अस्पतालहरूसँग समन्वय गर्दै आएको उल्लेख गरेको छ। हालसम्म २४ वटा अस्पतालमा ‘प्रि–अपोइन्टमेन्ट’ प्रणाली लागू गरी कार्यलाई व्यवस्थित बनाइएको पनि काठमाडौं शाखाका अध्यक्ष कोषराज अवस्थीले बताए।
विज्ञप्तिमा रोजगारदाता कम्पनीहरूको भूमिकाप्रति पनि प्रश्न उठाइएको छ। आफ्ना कर्मचारीका लागि सुरक्षित र अनुकूल कार्यस्थल सुनिश्चित गर्नु रोजगारदाताको दायित्व भए पनि यस विषयमा उनीहरूको मौनता खेदजनक भएको संघको भनाइ छ।
हाल अस्पतालहरूको प्रतिबन्धात्मक नीति र पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण औषधि प्रतिनिधिहरू प्रत्यक्ष रूपमा प्रभावित भएको अवस्थीले बताए।
यस्तो अवस्थामा दैनिक चिकित्सक भ्रमणको संख्या घटाएर यथार्थपरक बनाउन तथा यात्रा भत्ता र महँगी भत्ता बढाउन संघले रोजगारदाता कम्पनीहरूलाई अनुरोध गरेको उनको भनाइ छ।
त्यस्तै, औषधि व्यवसाय सेवामुखी भएकाले अव्यावहारिक बिक्री लक्ष्य र अनावश्यक मानसिक दबाब नदिन पनि संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ। वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै व्यावहारिक र समन्वयात्मक ढंगले समस्या समाधान गर्नुपर्ने अध्यक्ष अवस्थीले बताए।







