साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ।
अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका लागि १ अर्ब ५० करोडभन्दा बढी लगानी गर्ने गरी काम सुरु भएको जानकारी दिनुभयो।
ह्याम्स ग्रुपको ६६ प्रतिशत र बाँकी अन्य लगानीकर्ताहरुको लगानी रहेको अस्पतालको भवन ११ तलाको हुनेछ। अस्पतालमा ५१८ जना सेयरधनीहरु रहेका छन्। अध्यक्ष भण्डारीले भने, अहिले सबैभन्दा बढी सेयर स्वामित्व ह्याम्सकै छ,’ ‘सबैलाई स्वामित्व दिने गरी भक्तपुरमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अगाडि बढाएका हौँ, एक वर्षमै नयाँ भवनबाट सेवा सुरु हुन्छ।’
भक्तपुरको गठ्ठाघरस्थित ७ रोपनी क्षेत्रमा निर्माण हुने अस्पतालमा पहिलो चरणमा १०० शैयाको सञ्चालनमा आउने र पछि सेवा थप गरी २५० शैयाको बनाउने अध्यक्ष भण्डारीले बताए।
अस्पताल भवन निर्माणको शिल्यान्यास असार १८ गते भएको थियो । अहिले निर्माणको काम सुरु भइसकेको भण्डारीले जानकारी दिए। अस्पताल भवनमा हेलिप्याण्डसहितको सुविधा हुनेछ। भवन १ लाख २२ हजार स्वाक्यर फिट क्षेत्रफलमा निर्माण हुनेछ। नयाँ भवन निर्माण सम्पन्न भएपछि ह्याम्स अस्पतालभन्दा ठूलो हुने छ। ह्याम्स अहिले ९३ हजार स्क्वायर फिटमा सञ्चालनमा रहेको छ।
भक्तपुरमा सुविधा सम्पन्न बनाउने उद्देश्य
उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरमा हालसम्म सुविधा सम्पन्न ठूलो अस्पताल नरहेको अवस्थामा नागरिक अस्पताललाई ठूलो बनाउन लागिएको अध्यक्ष भण्डारीको भनाइ छ।
काठमाडौं र ललितपुरमा धेरै सुविधा सम्पन्न अस्पताल रहेको र भक्तपुरमा हालसम्म नभएकाले नागरिक अस्पतालललाई ह्याम्सकै जस्तो सुविधा दिने गरी सञ्चालन गर्न लागिएको भण्डारीले बताए। भक्तपुरवासी र भक्तपुर क्षेत्रमा बस्नेहरुलाई उपचारका लागि काठमाडौं र ललितपुका अस्पतालसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित काम सुरु गरिएको उनको भनाइ छ।
आगामी तीन वर्षभित्र अस्पताल २०० शैयामा विस्तार गर्दै झण्डै १२०० जनालाई रोजगारी दिने योजनाका साथ आफूहरुले लगानी थपेर अत्याधुनिक संरचना बनाउन लागेको अध्यक्ष भण्डारीले बताउनुभयो।
हाल अस्पताल २७० जना कर्मचारी कार्यरत छन्। नयाँ भवनबाट सेवा सुरु हुँदा सुरुमा ५०० सय हाराहारीमा कर्मचारीले रोजगारी पाउनेछन्। तीन वर्षपछि फूलफेजमा अस्पताल सञ्चालनमा आउँदा १२०० हाराहारीमा रोजगारी सिर्जना हुने उनको भनाइ छ।
नागरिक कम्युनिटी टिचिङ हस्पिटलको नयाँ भवनबाट सेवा थालनी गरेसँगै स्त्री तथा प्रसूति रोगको उत्कृष्ट एनआईसीयु, टाइमल्ली ट्रमा म्यानेजमेन्ट, क्याथल्याबसहितको मुटुको उपचार, डायलाइसिस सेवामा विशेष प्राथमिकता दिने भण्डारीको भनाइ छ।






