स्वास्थ्य सेवा गुणस्तरीय, सहज र विशेषज्ञ चिकित्सकको पहुँचमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वि.सं. २०६३ मा स्थापना भएको च्छो–रोल्पा अस्पताल आज दोलखा जिल्लाको अग्रणी निजी स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ।
प्रारम्भमा ५० शैयाबाट सेवा सुरु गरेको यस अस्पतालले वि.सं. २०७९ देखि १०० शैयामा स्तरोन्नति गरी आफ्नो सेवा अझ विस्तार गरेको छ। हाल अस्पतालमा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित रूपमा सेवा प्रदान गरिरहेको छ, जसले गर्दा जिल्लावासीमाझ अस्पतालप्रतिको विश्वास दिनानुदिन बढ्दै गएको छ।
अस्पतालमा हाडजोर्नी तथा ट्रमा विशेषज्ञ डा. सुमन श्रेष्ठ, एमडीजीपी विशेषज्ञ डा. सतीश निरौला लगायत विभिन्न विशेषज्ञ चिकित्सकहरू कार्यरत छन्। साथै विगत १५ वर्षदेखि दोलखाका बिरामीहरूको उपचारमा समर्पित भई जनताको मन जित्न सफल डा. बिनोद डंगाल प्रत्येक महिना नियमित रूपमा अस्पतालमा आएर सेवा प्रदान गर्दै आउनुभएको छ। स्थानीयवासीका अनुसार अनुभवी चिकित्सक, बिरामीमैत्री व्यवहार र प्रभावकारी उपचारका कारण अस्पतालले छोटो समयमै जिल्लाभर राम्रो प्रतिष्ठा कमाएको हो।
दोलखामा जिल्लामा विभिन्न स्वस्थ्य सस्थाहरु सञ्चालनमा रहे पनि च्छो–रोल्पा अस्पतालले केही विशेष सेवाहरू जिल्लामै उपलब्ध गराएर आफूलाई फरक पहिचान दिलाएको छ। यहाँ एन्डोस्कोपी, कोलोनोस्कोपी, इकोकार्डियोग्राफी, पाठेघरसम्बन्धी शल्यक्रिया, २४सै घण्टा हाडजोर्नी तथा आकस्मिक उपचार, दम रोग, मधुमेह, मुटु रोग, मानसिक रोग लगायतका सेवाहरू उपलब्ध छन्। समयमै रोग पहिचान, आवश्यक जाँच, भर्ना सेवा तथा प्रभावकारी उपचारका कारण धेरै बिरामीले काठमाडौं वा अन्य सहर धाउनुपर्ने अवस्था घटेको स्थानीयहरूको अनुभव छ।
अस्पतालले केवल सेवा मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको छ। निजी अस्पताल भए पनि आर्थिक रूपमा विपन्न, असहाय तथा गरिब बिरामीहरूलाई आवश्यकताअनुसार निःशुल्क तथा न्यूनतम शुल्कमा उपचार उपलब्ध गराउने गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद दंगाल बताउनुहुन्छ। उहाँका अनुसार “स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा हुनुपर्छ भन्ने उद्देश्यका साथ अस्पतालले व्यावसायिकतासँगै सामाजिक सेवालाई पनि प्राथमिकतामा राखेको छ।”
अस्पतालले वार्षिक रूपमा करिब २५ हजार बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। उपचार सेवासँगै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत अस्पतालले महत्वपूर्ण योगदान पुर्याइरहेको छ। अस्पतालसँग आबद्ध कलेजमार्फत पीसीएल नर्सिङ, जनरल मेडिसिन तथा फार्मेसी विषयको अध्ययन सञ्चालन हुँदै आएको छ। यी विषयहरूमा प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल हुँदै आएको प्रशासन प्रमुख शर्मिला बुढाथोकी बताउनुहुन्छ। दक्ष स्वास्थ्यकर्मी उत्पादनसँगै जिल्लाको स्वास्थ्य सेवाको गुणस्तर सुधारमा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ।
स्वास्थ्य सेवाको विस्तारसँगै दोलखाका धेरै बिरामीले जिल्लाभित्रै विशेषज्ञ उपचार पाउन थालेका छन्। यसले काठमाडौं तथा अन्य सहरमा उपचारका लागि हुने अनावश्यक खर्च, समय र मानसिक तनावलाई उल्लेखनीय रूपमा कम गरेको स्थानीयवासीहरूको अनुभव छ। “केही शुल्क त लाग्छ, तर उपचार गुणस्तरीय हुन्छ र रोग निको हुन्छ,” भन्ने विश्वास धेरै सेवाग्राहीमा रहेको पाइन्छ।
उपचार सेवासँगै अस्पतालले समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै आएको छ। जिल्लाका विभिन्न पालिका तथा वडाहरूमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम, स्वास्थ्यकर्मी तथा समुदायका लागि तालिम आयोजना गर्ने, साथै स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न सार्वजनिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने कार्यमा अस्पताल सक्रिय रहेको छ। यस्ता सामाजिक तथा स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरूमार्फत जिल्लावासीको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालले जिल्लाका विभिन्न स्थानीय तह तथा संघ–संस्थाबाट सम्मान र प्रशंसा समेत प्राप्त गरेको छ।
दोलखाको स्वास्थ्य क्षेत्रमा दुई दशकदेखि निरन्तर सेवा, विशेषज्ञ चिकित्सकको उपलब्धता, आधुनिक स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र स्वास्थ्य शिक्षा क्षेत्रमा योगदानका कारण च्छो–रोल्पा अस्पताल आज जिल्लाको विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको देखिन्छ। स्थानीयवासीको विश्वास, विशेषज्ञ चिकित्सकहरूको समर्पण र सेवा विस्तारको निरन्तरताले आगामी दिनमा पनि अस्पतालले दोलखाको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।






