विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा काठमाडौं महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्ट, नेपाल (फेक्ट नेपाल)को सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
आईतबार जमलस्थित यल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) का चुनौती, प्रभाव तथा नियन्त्रणका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले एएमआर नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, औषधिको उचित प्रयोग तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतीश बिष्ट, महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी, फर्मासिस्ट ऋषि भुषाल, स्वास्थ्य तथा शिक्षा समितिका सदस्यहरू, महानगरपालिकाका विभिन्न सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा फेक्ट नेपालका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. शम्भु उपाध्यायले एएमआर नियन्त्रणका लागि आवश्यक पहल तथा जनस्वास्थ्य क्षेत्रमा यसको महत्वबारे धारणा राखेका थिए।
फेक्ट नेपालकी वरिष्ठ कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. वसुधा श्रेष्ठले नेपालमा एएमआरको अवस्था, निगरानी प्रणाली तथा एन्टिबायोग्रामको महत्वबारे प्रस्तुति दिएकी थिइन्। औषधिको उचित प्रयोग र सचेतनासम्बन्धी विषयमा डीआईसी नेपालका प्रतिनिधिहरूले प्रस्तुति दिएका थिए।
एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीमा संक्रमणविरुद्ध प्रयोग गरिने औषधिको प्रभावकारिता घट्दै जाने र उपचार कठिन बन्दै जाने भएकाले यसलाई विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा लिइएको छ।








