बाग्लुङ , ३ साउन
कोरोना जोखिम मोलेर काम गरेको १ करोड ५३ लाख भत्ता माग गरेपछि ठूलो विवादमा आएको धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीलाई गण्डकी प्रदेशबाट ९१ लाख १३ हजार जोखिम भत्ता पठाइएको छ ।
सरकारले विश्वब्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिरूद्व जोखिम मोलेर काम गर्ने बागलुङ जिल्लाका स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ९१ लाख १३ हजार पठाएको छ ।
धौलागिरि अस्पताल बागलुङमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले चैतदेखि असार मसान्तसम्म काम गरेको कोरोनाको जोखिम भत्ता १ करोड ५३ लाख माग गरि पठाएकोमा सामाजिक विकास मन्त्रालयले भने एकमुष्ट ९१ लाख १३ हजार रूपैयाँ जिल्ला भरि काम गर्नेको लागि भन्दै धौलागिरि अस्पताल बागलुङमा पठाएपछि नयाँ समस्या सृजना भएको अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले वताए ।
९१ लाख १३ हजार रुपैयाँ बागलुङका सबै आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीका लागि पठाएको जोखिम भत्ता हो भनेपछि जिल्लामा अर्को समस्या सृजना भएको हो ।
कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वितरण गर्न धौालागिरि अस्पताललाई एकमुष्ठ रकम पठाएको हुनाले छानबिन गरि अस्पतालका स्वास्थ्यकर्मीलाई वितरण गरिने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।
जोखिममा खटिएका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि भत्ता वितरण गर्ने भनेर ९१ लाख १३ हजार जति रकम आएको भए पनि के कसरी वितरण गर्ने भन्ने स्पष्ट निर्देशन नआएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले पनि बागलुङमा प्रदेश सरकारबाट स्वीकृत भएका आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता एकमुष्ट धौलागिरि अस्पतालको खातामा निकासा गरिएको बताए ।
सरकारबाट स्वीकृत भएको धौलागिरि क्याम्पस, बागलुङ बहिरा विद्यालय, नरेठाँटी स्वास्थ्यचौकी र बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र र निसी भुजी जनता क्याम्पसको आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि जोखिम बहन गरे वापतको भत्ता हो पठाएको हो ।
संघिय सरकारको ‘निर्देशिकाले आईसोलेसनमा एक जना मेडिकल अधिकृत, दुई जना स्वास्थ्य कर्मी र दुई जना सरसफाई कर्मचारीको १२÷१२ घण्टाको ड्युटी अवधि तोकेर खटाउने र त्यही खटाएको दिनको आधारमा जोखिम भत्ता दिने नीति वनाएको छ । त्यस वाहेक स्वाव संकलन लगायतका काममा सहभागी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य कार्यालयमा रकम निकासा भएको छ ।
अस्पतालको आईसोलेसनमा खट्नेका लागि मात्रै जोखिम भत्ता दिने भने पनि धौलागिरी अस्पतालले भने अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीदेखि प्रशासनिक फाँटमा काम गर्ने कर्मचारीको नाम पनि जोखिम भक्ता पाउने कर्मचारीको सुचिमा सिफारिस गरेको थियो ।
धौलागिरि अस्पतालले दुई जना कोरोना संक्रमितको उपचार गरेको एक करोड ५३ लाख जोखिम भत्ता माग गरेपछि प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि हंगामा मच्चिएको थियो ।
अस्पतालले उक्त रकम दुई जना कोरोना संक्रमितको उपचारको मात्र नभइ असार मसान्तसम्म खटिने स्वास्थ्यकर्मीका लागि मागिएको वताएको छ ।