बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ।
अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले तत्काल उपचार सुरु गर्नुभयो। अत्यधिक रक्तस्रावका कारण उहाँलाई ३ पिन्ट रगत चढाइयो र केही दिनसम्म सघन उपचार कक्ष (आईसीयू) मा निरन्तर निगरानी तथा उपचार प्रदान गरियो। अथक प्रयास र समयमै गरिएको उपचारका कारण उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आयो र पछि उहाँलाई सामान्य वार्डमा सारियो।
आज आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो छ। दुवै सुरक्षित र स्वस्थ हुनु हाम्रो सम्पूर्ण स्वास्थ्य टोलीका लागि सबैभन्दा ठूलो खुसी र उपलब्धि हो।
हरेक सुरक्षित आमा र स्वस्थ नवजात हाम्रो सेवाप्रतिको प्रतिबद्धताको प्रतीक हुन्। समयमै रेफर गर्ने बुर्तिबाङ अस्पताल, रगतदान गर्ने महान् दाताहरू तथा उपचारमा अहोरात्र खटिनुहुने सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
एक समयमै गरिएको निर्णय, एक समर्पित टोलीको अथक प्रयास, र धेरैको सहकार्यले आज फेरि एक आमाको काख र एक नवजातको भविष्य सुरक्षित भएको छ।






