राष्ट्रिय ट्रमा सेन्टरमा बहिरङ्ग विभाग (ओपिडी) मा सेवा लिनेको संख्या यस वर्ष उल्लेख्य रुपमा बढेका छ्न।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. मरासिनीले १३ औँ बार्षिकोत्सवको अवसरमा प्रस्तुत प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्क अनुसार ओपिडीमा मात्रै १ लाख २४ हजार ११२ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको प्रस्तुत गर्नुभयो।
यस्तै अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ओपिडीका बिरामीको सङ्ख्या १ लाख १४ हजार ८०० रहेकोमा यस वर्ष झन्डै साढे नौ हजारले बिरामी बढेको देखिएको छ ।
पछिल्ला आठ आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा सेन्टरको ओपिडी सेवामा निरन्तर उतारचढावसहितको वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ७९ हजार २३९ रहेको ओपिडीका बिरामीको सङ्ख्या कोभिड १९ महामारीको समयमा आव २०७७/०७८ मा घटेर ४० हजार २४१ मा झरेको थियो ।
त्यसपछि बिरामीको चाप क्रमिक रूपमा उकालो लाग्दै आर्थिक वर्ष २०७८/०७९ मा ७१ हजार ३१०, आव २०७९/०८० मा ८२ हजार ९७८ र आव २०८०/०८१ मा १ लाख १३ हजार १७३ हुँदै हाल १ लाख २४ हजार नाघेको हो ।
आकस्मिक कक्षबाट सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा १९ हजार २७१ जना बिरामीले आकस्मिक सेवा लिएका छन्, जुन अघिल्लो आव २०८१/०८२ को १८ हजार ३९८ को तुलनामा करिब नौ सयले बढी हो । यसअघि आव २०७५/०७६ मा १८ हजार २६३ र आव २०७८/०७९ मा १८ हजार ४८५ जनाले आकस्मिक सेवा लिएको तथ्याङ्क छ ।
बिरामीको आगमनमा आएको यो उच्च वृद्धिले सेन्टरको जनशक्ति र पूर्वाधार व्यवस्थापनमा समेत प्रत्यक्ष चाप सिर्जना गरेको छ । ओपिडीमा बिरामीको चाप बढेसँगै चिकित्सक र आउट–पेसेन्ट अनुपात १:२,१०३ पुगेको छ भने आकस्मिक तथा नियमित बिरामीको भर्ना बढ्दा शय्या अकुपेन्सी दर पनि ९०.७३ प्रतिशत कायम भएको छ ।
डा. मरासिनीका अनुसार अस्पतालमा एक वर्षमा ८ हजार १४२ वटा ठूला शल्यक्रिया गरिएको छ। तीमध्ये करिब दुई हजार शल्यक्रिया सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क गरिएको छ। आकस्मिक विभागका साना शल्यक्रिया भने उक्त तथ्यांकमा समावेश छैनन्।
सामाजिक सेवा स्रोत निकायमार्फत करिब तीन हजार बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् भने १८ हजारभन्दा बढीले आंशिक सहुलियतमा सेवा प्राप्त गरेका छन्।








