नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा धुलिखेल अस्पतालमा १० बेडको नबिल बर्न केयर वार्ड सञ्चालनमा आएको छ।
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका हुन्। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत उक्त वार्ड स्थापना गरिएको हो।
वार्डबाट जलनमा परेका बिरामीलाई आकस्मिक उपचार, शल्यक्रिया, स्वास्थ्यलाभ, पुनःस्थापना तथा मनोसामाजिक परामर्शसहितका एकीकृत सेवा उपलब्ध हुनेछन्। यसले जलनका बिरामीको उपचारदेखि पुनःस्थापनासम्मको सेवामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष चौधरीले संस्थाको सफलता समाजमा पार्ने सकारात्मक प्रभावमा निर्भर हुने बताउनु भयो। जलनको उपचार लामो र कष्टकर प्रक्रिया भएकाले सुविधाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य पूर्वाधारमा लगानी गरिएको चौधरीले बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमार्फत करिब ५०० जलन पीडितको उपचार गरिएको जानकारी दिनुभयो। उनले नयाँ वार्डलाई त्यही अभियानको दीर्घकालीन स्वरूपका रूपमा विकास गरिएको बताए। 
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. श्रेष्ठले यस वार्डबाट शहरी मात्रै नभएर ग्रामीण क्षेत्रका नागरिकले समेत विशेषज्ञ जलन उपचार सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। नबिल बैंकसँगको सहकार्यले नेपालको जलन उपचार क्षेत्रमा उदाहरणीय पहल बन्ने अपेक्षा डा. श्रेष्ठले गरे।
नबिल बैंकले ‘नबिल केयर’ कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने र देशभरका महत्वपूर्ण स्वास्थ्य सेवालाई सुदृढ बनाउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ।








