वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा मेडिकल अंकोलोजी विभागका विभागीय प्रमुख तथा कन्सल्टेन्ट डा. गुरुशरण साह नियुक्त हुनुभएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको सिफारिसमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले डा. साहलाई उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
अस्पतालमा कार्यरत कन्सल्टेन्ट विभागीय प्रमुख वा सिनियर कन्सल्टेन्टमध्येबाट उपनिर्देशक नियुक्त गर्ने व्यवस्थाअनुसार डा. साहलाई उक्त जिम्मेवारी दिइएको हो । विगत १३ वर्षदेखि डा. साह वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ । अस्पतालको मेडिकल अंकोलोजी विभागको नेतृत्व गर्दै आउनुभएका डा. साह अब अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वमा समेत जोडिनुभएको छ ।
डा. साह चिकित्सा तथा क्यान्सर उपचारसम्बन्धी व्यावसायिक संस्थाहरूमा समेत सक्रिय हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा समेत डा. साहले काम गरिसक्नुभएको छ । त्यसैगरी नेपाल मेडिकल अंकोलोजी सोसाइटीको महासचिव तथा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट्स–नेपालको उपाध्यक्षका रूपमा पनि उहाँ आबद्ध रहनुभएको छ ।
उपनिर्देशकको जिम्मेवारीसँगै अब डा. साहले अस्पतालको चिकित्सकीय सेवा, विभागीय समन्वय, जनशक्ति व्यवस्थापन तथा संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो।








