मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेसकी छात्रा सुस्मिता घिमिरे त्रिभुवन विश्वविद्यालय, त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) अन्तर्गत स्नातक तहको पब्लिक हेल्थ (बीपीएच) कार्यक्रममा सर्वोत्कृष्ट (टपर) बन्न सफल भएकी छिन् ।
संस्थानको जनस्वास्थ्य (पब्लिक हेल्थ) विभाग अन्तर्गत अध्ययनरत घिमिरेले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरू मध्येबाट बीपीएच कार्यक्रममा सर्वाधिक अंक हासिल गरेकी हुन् । उनले कुल २२३१ अंक अर्थात् ७५.६८ प्रतिशत नतिजा ल्याउँदै त्रिविकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएकी हुन् ।
उनको यो ऐतिहासिक सफलतासँगै क्याम्पस परिवारले खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
यसअघि पनि स्नातक तहका बीपीएच (BPH), बीएस्सी नर्सिङ (B. Sc Nursing) र बी.फार्मेसी (B.Pharmacy) लगायतका कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले अन्तिम वार्षिक परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनालले जानकारी दिए।
डा. खनालका अनुसार मनमोहन मेमोरियल इन्स्टिच्युट विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त संस्था हो । साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट बि.स २०७५ र २०८१ गरी दुई पटक देशकै उत्कृष्ट क्याम्पसका रूपमा छनोट भइसकेको उल्लेख गर्दै डा. खनालले आगामी दिनमा पनि गुणस्तरीय र उत्कृष्ट स्वास्थ्य शिक्षा प्रदान गर्न क्याम्पस परिवार सधैँ कटिबद्ध भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








