CBM Global, FELM तथा CMC-Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी पाँचदिने तालिम सञ्चालन भएको छ।
मिति २०८३ मंसिर ७ गतेदेखि ११ गतेसम्म चन्दननाथ नगरपालिका, जुम्लामा सञ्चालन हुने उक्त तालिमको मुख्य उद्देश्य बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूको पहिचान, प्रारम्भिक उपचार तथा आवश्यकताअनुसार प्रेषण (Referral) गर्न स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थामार्फत मानसिक स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउनु रहेको छ।
तालिममा चन्दननाथ नगरपालिका, राराछायानाथ नगरपालिका तथा सिंजा, गुठीचौर र खत्याड गाउँपालिकाका गरी १६ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन सत्र कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका जनस्वास्थ्य अधिकृत श्रीमती सपना तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख श्री किरण शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने प्रशिक्षक डा. अमित झा तथा अपाङ्गता सशक्तीकरण केन्द्र, जुम्लाका अध्यक्ष श्री सत्यनारायण योगी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
यस तालिमबाट स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा दक्षतामा अभिवृद्धि भई बालबालिका तथा किशोरकिशोरीका लागि स्थानीय स्तरमै गुणस्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।








