वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो।
न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले विभागको नेतृत्व सम्हालेसँगै वीर अस्पतालको न्युरोसर्जरी सेवा थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।देशका विभिन्न जिल्लाबाट जटिल मस्तिष्क तथा स्नायु प्रणालीसम्बन्धी समस्या लिएर बिरामी उपचारका लागि आउने वीर अस्पतालमा न्युरोसर्जरी विभागको भूमिका महत्वपूर्ण रहँदै आएको छ। नयाँ नेतृत्वसँगै उपचार सेवा, शल्यक्रिया व्यवस्थापन, जनशक्तिको परिचालन तथा विभागीय सेवामा थप सुधार हुने अपेक्षा गरिएको छ।
को हुनुहुन्छ डा. बिनोद राजभण्डारी?
डा. बिनोद राजभण्डारी नेपालका अनुभवी न्युरोसर्जन हुनुहुन्छ। उहाँ स्वास्थ्य सेवा अन्तर्गत ११औँ तहमा हुनुका साथै वीर अस्पतालमा प्रमुख कन्सल्टेन्ट न्युरोसर्जनका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), काठमाडौंमा न्युरोसर्जरी विषयका सहप्राध्यापकसमेत हुनुहुन्छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH) महाराजगञ्ज, काठमाडौं बाट न्युरोसर्जरीमा Mch उपाधि हासिल गर्नुभएका डा. राजभण्डारीले लामो समयदेखि न्युरोसर्जरी तथा स्नायु प्रणालीसम्बन्धी जटिल रोगको उपचारमा योगदान दिँदै आउनुभएको छ।
डा. बिनोदको चिकित्सकीय अनुभव बिरामीको उपचारमा मात्र सीमित छैन। नेपालमा न्युरोलोजिकल तथा न्युरोसर्जिकल उपचार सेवाको विकास, विस्तार र आवश्यक पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न पहलमा समेत उहाँको संलग्नता रहँदै आएको छ।
अक्टोबर २०२४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा न्युरो उपचार केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययनका लागि गठन गरेको समितिमा डा. राजभण्डारीलाई समेत जिम्मेवारी दिइएको थियो। प्रस्तावित केन्द्रमार्फत न्युरोलोजिकल रोगबाट प्रभावित बिरामीलाई थप व्यवस्थित र सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको थियो।
नयाँ जिम्मेवारीसँगै नयाँ अपेक्षा
नेपालकै प्रमुख सरकारी अस्पतालमध्ये एक वीर अस्पतालको महत्वपूर्ण विभागको नेतृत्व सम्हाल्नुभएका डा. राजभण्डारीसामु सेवा विस्तारसँगै उपचारको गुणस्तर कायम राख्ने, आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्ने, दक्ष जनशक्तिको विकास गर्ने र जटिल न्युरोसर्जरी सेवामा बिरामीको पहुँच बढाउने चुनौती रहेको छ।






