भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
गत आर्थिक वर्ष ८८ अंक प्राप्त गरेको भरतपुर अस्पतालले यस वर्ष एक अंक सुधार गर्दै ८९ अंकसहित ‘ग्रिन जोन’मा आफ्नो स्थान कायम राख्न सफल भएको छ। मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्पतालले सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको बताउनुभयो।
डा. बगालेका अनुसार बिरामीले पाउने सेवा–सुविधा, अत्याधुनिक उपकरणको उपलब्धता, ड्युटी रोस्टर व्यवस्थापन, सरसफाइ, औषधि आपूर्ति तथा जनशक्ति व्यवस्थापनलगायतका पक्षमा निरन्तर सुधार गरिएको छ।
डा. बगालेले चिकित्सक, नर्स तथा सम्पूर्ण कर्मचारीको सकारात्मक सोच र सेवाप्रतिको प्रतिबद्धताले अस्पतालको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनु भयो ।
मूल्याङ्कन टोलीका संयोजक तथा गुणस्तर मापन तथा नियमन महाशाखाका डा. श्रीराम तिवारीले देशभरका १४ संघीय जनरल अस्पतालमध्ये भरतपुर अस्पताल सेवा प्रवाहका अधिकांश सूचकमा उत्कृष्ट देखिएको बताउनु भयो। डा. तिवारीका अनुसार मन्त्रालयले अस्पतालहरूको गुणस्तर मापनका लागि १,४९७ वटा सूचक तय गरेको छ।
ती सूचकका आधारमा अस्पतालमा रहेका कमी–कमजोरी पहिचान गरी आवश्यक बजेट तथा कार्यक्रममार्फत सुधार गरिने व्यवस्था रहेको डा. तिवारीले जानकारी दिए। “पहिला भरतपुर अस्पतालमा एमआरआई र क्याथ ल्याब सेवा थिएन। मूल्याङ्कनबाट आवश्यकता देखिएपछि मन्त्रालयले बजेट उपलब्ध गरायो,” उनले भने। “अस्पतालले आफ्नै प्रयासबाट गर्नुपर्ने सुधार गर्न सुझाव दिन्छौं भने केन्द्र सरकारको सहयोग आवश्यक पर्ने विषयमा बजेट तथा कार्यक्रममार्फत सम्बोधन गरिन्छ।”
डा. तिवारीका अनुसार अस्पतालले अधिकांश सूचक पूरा गरेकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। यद्यपि सामाजिक परीक्षण तथा अस्पताल विकास समितिको सक्रियतामा अझै सुधारको आवश्यकता रहेको उनले बताए।
६ सय शैयाको भरतपुर अस्पतालमा दिनमा २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामी बहिरङ्ग (ओपीडी) सेवाका लागि आउने गरेका छन्। अस्पतालले हाल १४ वटा सुपर–स्पेसालिटी सेवा सञ्चालन गरिरहेको मेडिकल सुपरिटेण्डेन्ट डा. बगालेले जानकारी दिनुभयो।






