भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन भएसँगै अस्पतालमा क्यान्सर निदान तथा उपचार सेवाको गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ।
यो उच्चस्तरीय अल्ट्रासाउन्ड मेसिन लेटर–डे सेन्ट च्यारिटिज र चोइस ह्युम्यानिटेरियन्स नेपालको सहयोगमा प्राप्त गरेको हो। अस्पतालले सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले नेपालमा क्यान्सर उपचार सेवाको पहुँच र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले नयाँ मेसिनमा नियमित प्रोब, कार्डियाक, भ्याजाइनल र रेक्टल प्रोबहरू समेत समावेशका साथै विशेष प्रोबहरूको प्रयोगबाट शरीरभित्र रहेका ट्युमर तथा विभिन्न अङ्गहरूको अझ स्पष्ट र सूक्ष्म रूपमा अवलोकन गर्न सकिने बताउनुभयो ।
डा. चालिसेका अनुसार उक्त मेसिन अपरेशन थिएटर तथा प्रोसिजर रुममा जडान गरिनेछ। यसको प्रयोग विशेषगरी इमेज–गाइडेड बायोप्सी, नर्भ एब्लेसन , ट्युमर एब्लेसनलगायतका विभिन्न इन्टरभेन्सनल प्रक्रियामा गरिनेछ। यसले उपचारको शुद्धता, सुरक्षा र प्रभावकारिता बढाउनुका साथै बिरामीलाई अझ आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
डा. चालिसेका अनुसार अत्याधुनिक अल्ट्रासाउन्ड प्रविधिले ट्युमरको सही स्थान पहिचान गर्न, बायोप्सीलाई अधिक सटीक बनाउन तथा विभिन्न न्यून चिरफार (मिनिमल्ली इन्भेजिव) उपचार प्रक्रियालाई सुरक्षित रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। यसबाट क्यान्सर बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सम्भावना अझ बढ्ने अपेक्षा गरिएको छ।






