भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निश्चित प्रकार छुट्याउन आवश्यक पर्ने महत्त्वपूर्ण आईएचसी परीक्षण अस्पतालकै प्रयोगशालाबाट प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभएको छ । क्यान्सर विशेषज्ञहरूका अनुसार अस्पतालबाटै यो सेवा उपलब्ध हुँदा बिरामीहरूले बायोप्सी गरेपछि विस्तृत परीक्षणका लागि विदेश वा अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार हाम्रो समाजमा अझै पनि बायोप्सी गरेपछि आईएचसी परीक्षणका लागि अनिवार्य रूपमा विदेश नै पठाउनुपर्छ भन्ने भ्रम कायम छ, जसका कारण रिपोर्ट आउन झन्डै दुई हप्ताभन्दा बढी समय लाग्ने र समयमै उपचार सुरु हुन नपाई बिरामीको रोग झन् बल्झिने खतरा रहन्छ ।
यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै भक्तपुर क्यान्सर अस्पतालको प्याथोलोजी टिमले बायोप्सी गरेपछि मासुको एक टुक्रा यस अस्पतालमा पठाएमा मात्र ३ दिनभित्रै सम्पूर्ण रिपोर्ट उपलब्ध हुन्छ ।’
अस्पतालको प्याथोलोजी विभागका प्रमुख डा. प्रतिमा श्रेष्ठका अनुसार क्यान्सर रोग पहिचानका लागि आवश्यक पर्ने अत्याधुनिक परीक्षण सेवाहरू नेपालमै सुलभ दरमा उपलब्ध गराउँदै आएको छ । सामान्यतया क्यान्सर निदानका लागि शङ्कास्पद भागको मासुको टुक्रा परीक्षण (बायोप्सी) गरिसकेपछि क्यान्सरको निश्चित प्रकार छुट्याउन आईएचसी र फ्लोसाइटोमेट्री जस्ता विशेष परीक्षणहरूको आवश्यकता पर्दछ, जसको पूर्ण सुविधा नेपालमा निकै सीमित छ ।
भक्तपुर क्यान्सर अस्पतालले हाल १२५ भन्दा बढी प्यानलको आईएचसी लगायत बायोप्सी र फ्लोसाइटोमेट्रीका सम्पूर्ण परीक्षणहरू सरकारको स्वास्थ्य बिमाकै दररेटमा उपलब्ध गराइरहेको जनाएको छ । अस्पतालले आगामी दिनमा आनुवंशिक परीक्षणका लागि अत्याधुनिक एनजीएस सेवा समेत भित्र्याउने तयारी गरेको छ ।






