कोभिडको बेला क्वारेन्टाइनमै योग संगै आयुर्वेद औषधि वितरण #Covid19

धनगढी , २२ जेठ

सुदूरपश्चिम प्रदेशमा भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई राखिएको स्थान क्वारेन्टाइनमै योग अभ्यास गर्न थालिएको छ। सुदुरपश्चिमका वरिष्ठ आयुर्वेद चिकित्सक तथा सेती आयुर्वेद औषधालयका प्रमुख डा.खगेन्द्र बम निरन्तर रुपमा धनगढीका क्वारेन्टाइनहरुमा राखिएका ब्यक्तिहरुलाई परामर्श तथा स्वास्थ्य उपचारमा संलग्न रहनु भएको छ।

डा. बमका अनुसार मानसिक रुपमा स्वस्थ बनाउन तथा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक प्रणालीबाट क्वारेन्टाइनमा रहेका नागरिकलाई दैनिक योग अभ्यास गराएको बताए।

भारतबाट सोचेभन्दा बढी नागरिक भित्रिँदा कोरोना परीक्षण गर्ने किटको अभाव हुनुका साथै क्वारेन्टाइनमा रहेका नागरिकमा मानसिक त्रास देखापरेको छ। क्वारेन्टाइनमा रहेका नागरिकलाई तनाव मुक्त गरी उनीहरूको हौसला बढाउनु योगको प्रमुख उद्देश्य रहेको डाक्टर बमले बताए।

उनले भने, ‘लामो समय सम्म क्वारेन्टाइनमा बस्दा मानसिक तनाब हुनसक्छ, योगको माध्यमबाट सो तनावलाई न्यूनीकरण गर्दै योगकै माध्यमबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले योग सुरु गरेका छौं, यो अभियान सुचारु भएका स्थानमा सकारात्मक प्रभाव परेको छ।’

बमका अनुसार बिहीबार धनगढी उपमहानगरपालिका–३ त्रिभुवन माविमा रहेका ५७ जना नागरिकलाई १ घण्टा योग प्रशिक्षण दिइएको छ। यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयूर्वेदिक औषधीसमेत वितरण गरिएको छ।

उनले कैलाली लगायत सुदूरपश्चिमका अधिकांश स्थानमा योग कक्षा सञ्चालन गरी क्वारेन्टाइनमा रहेका नागरिकलाई तनाव मुक्त गर्न अभियानको थालनी गरिएको बताए। योगा यो जेठ महिनाभरी निरन्तर चलिरहने छ। धनगढी उपमहानगरपालिका १३ को जनता माविको क्वारेन्टाइनमा ३७ जनालाई योगा अभ्यास गराइदै छ।

क्वारेन्टाइनमा योग कक्षा सञ्चालन भएसँगै त्यहाँ रहेका नागरिकमा मानसिक चिन्ता कम हुने गरेको वडा.३ का अध्यक्ष बल बहादुर ऐरले बताए। ‘हामीले क्वारेण्टाइनमा योग कक्षा सञ्चालन गर्दा त्यहा रहेका नागरिकमा सकारात्मक प्रभाव परेको छ,’ अध्यक्ष ऐरले भने, ‘यो अभियान सवै क्वारेन्टाइनमा सञ्चालन गर्नु आवश्यक छ।’

सेती आयुर्वेद औषधालयका कबिराज निरीक्षक दिपक राज पन्तले आयुर्वेद औषधिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको समस्या निराकरण गर्न प्रभावकारी हुने बताउनु भयो।

योग प्रशिक्षक श्री खगेन्द्र राज जोशीले योग सिकाउनु भएको थियो।

जोशीले योगाबाट शरीरलाई स्वस्थ्य र फुर्तिलो बनाउनका साथै मानसिक तनाब कम हुनुको साथै सहज हुने बताए ।

Next Post

Discussion about this post

ADVERTISEMENT