कोरोना भाइरस: आयुर्वेदको आँखाले हेर्दा डा. सविता भण्डारी

हाल सारा संसार कोरोना भाइरसको संक्रमणबाट त्रस्त एवं ग्रस्त छ । संसार नै यसबाट पीडित भइरहेको अवस्था छ । संसारभरका चिकित्सक, वैज्ञानिकहरू यो बिल्कुलै नौलो रोग भएकाले यसको शोध र अनुसन्धानमा लागिरहेका छन् । यस भाइरससँग लड्नको लागि अनेकौँ राष्ट्रहरूले अरबौँ रकमको घोषणा गरे । केही देशले त संकटकालको समेत घोषणा गरिसकेका छन् । आखिर यस्ता समस्या पैदा कसरी भइरहेको छ ? यसको आयुर्वेद चिकित्साको माध्यमबाट स्थायी समाधान के हुनसक्छ त ? यो आजको चर्चाको विषय हो ।

आयुर्वेद पद्धति चिकित्सामध्येको सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो भनेर सबैले मानेजस्तो गरेतापनि जब जब यस्तो भयानक परिस्थिति आउँछ तब कसैको ध्यान यसतर्फ जादैँन । यस्तो जटिल परिस्थितिलाई पनि आयुर्वेद चिकित्सा पद्धतिद्वारा अति सरल र सहज तरिकाले निवारण गर्न सकिन्छ भन्ने कसैलाई विश्वासै हुँदैन । किनकि मानिस जति जटिल समस्या छ त्यतिनै जटिल निवारणको खोजीमा हुन्छ ।

के आयुर्वेदमा हाल देखिने रोगहरुको वर्णन पाइन्छ त ?
आयुर्वेदको कुरा उठ्ने बित्तिकै उब्जिने पहिलो प्रश्न नै यही हो र यसको सहज जवाफ हो – ‘हुन्छ’ ।

तर कसरी त?
किनकि आयुर्वेद एक पूर्ण चिकित्सा पद्धति हो र यसमा हालका कुनै पनि रोगको तुलना गरेर त्यसको कारण बुझी समाधान गर्न सकिन्छ । आयुर्वेद ग्रंथ संस्कृतमा भएको र आम मानिसमा भाषाको असहजताका कारण केही दुविधा भएतापनि हरेक स्वास्थ्य समस्याको समाधान भने अवश्य गरेकै हुन्छ । अङ्ग्रेजी नाम वा हाल पत्ता लागेको हो भन्ने बित्तिकै त्यो रोग बिल्कुलै नयाँ हो भन्ने पनि हुँदैन ।
उदाहरणको लागि , आयुर्वेदको सुश्रुत संहितामा रोग सर्ने तरिकाको बारेमा दिइएको एउटा श्लोक हेर्दा त्यो समयमा र हालको समयमा रोग सर्ने तरिकाको वर्णनमा केही भिन्नता भएको देखिदैन ।

प्रसंगाद्गात्रसंस्पर्शान्निःश्वासात् सहभोजनात् ।

सहशय्यासनाच्चापि वस्त्रमाल्यानुलेपनात् ।।

कुष्ठं ज्वरश्च शोषश्च नेत्राभिष्यन्द एव च ।

औपसर्गिकरोगाश्च संक्रामन्ति नरान्तरम् ।। 

सुनि५–३२्३३
अर्थात् रोगीसँग संसर्गबाट, शरीरमा स्पर्श गर्नाले , श्वासप्रश्वासबाट, एकैसाथ भोजन गर्नाले, एकै ओच्छ्यानमा सुत्नाले तथा रोगीको कपडा, माला र अन्य सामाग्रीको प्रयोगबाट कुष्ठ, ज्वरो, राजयक्ष्मा, नेत्र रोग आदि रोग एक मानिसबाट अरुमा संक्रमण हुनसक्छ ।
यस्तो समस्यालाई आयुर्वेदमा जनपदोद्ध्वंससँग दाजेर त्यसै अनुरूपको व्यवहार र नियमको पालना गर्नाले यसबाट बच्न सकिन्छ । साथै यदि आयुर्वेदमा बताइएका अति सरल र सुलभ कर्महरू गर्नाले सारा संसार सुख र खुसीका साथ जीवन व्यतीत गर्न सक्छ भन्ने मेरो विश्वास छ ।

के हो जनपदोद्ध्वंस ?

भिन्दाभिन्दै आहारको सेवन गर्ने, भिन्दाभिन्दै खाने–पचाउने, काम गर्ने क्षमता भएका, विभिन्न उमेरसमूह र प्रकृतिका मानिसहरूमा हावा, पानी, देश (भूमि) र समय यी चार कुराको विकृति भएर एकैप्रकारको रोग लाग्दछ भने त्यो नै जनपदोद्ध्वंस हो ।

यसबाट बच्ने उपाय के छ त ?
क) कारणको परित्यागः कुनै पनि रोगको केही न केही कारणबाट लागेको हुन्छ र सोको त्याग गर्नाले त्यो रोगको निवारण हुन्छ वा थप कष्टदायक हुन पाउँदैन ।

ख) शरीर शोधन गर्नको लागि पञ्चकर्म र पञ्चकर्मपश्चात् रसायन औषधिको सेवन,

के हो पञ्चकर्म? : यो आयुर्वेद चिकित्साको बलियो पक्ष हो, जसमा वमन, विरेचन, शिरोविरेचन, वस्ति र रक्तमोक्षण पर्दछ, जसद्वारा शरीरमा रहेका विकार पदार्थ सम्पूर्णरूपमा नष्ट हुन्छन् ।

के हो रसायन ?
यज्जराव्याधिनाशनम् तत् रसायनम् । अर्थात् जसले रोगको नाश गर्दछ साथै शरीरको रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्दछ ।

ख) आहार–औषध संग्रहः
यस्तो भैपरि आउने समस्याको लागि पहिला नै खानेकुरा र आवश्यक औषधीहरूको संग्रह गर्नुपर्दछ जस्तैः तुलसी, गुडूची, अमला, भूइँअमला, बेसार, अदुवा, काँचो बेल, ज्वानो, मरिच, पिप्ला, कुरिलोआदि सम्भावित रोगमा आवश्यक पर्ने औषधीहरू ।
ग) ब्रह्मचर्य अर्थात् ब्रह्म भन्नाले सत्य र चर्य भन्नाले कर्म, सत्कर्महरू; जसले आफ्नो र अरु कसैको हानि नहोस् ।
घ) दया, दान, सदाचारका कर्महरू एवं शान्ति कर्म ।

ङ) धार्मिक व्यवहार, वचन र आचरण ।

च) देवता, ऋषि र जितात्मा (चिकित्सक आदि) हरूसँग सत्संग, जसले गर्दा देवता, ऋषिहरुको संगत गर्नाले गलत आचरणको प्रवृत्तिमा ह्रास आउँदछ भने चिकित्सकहरुको संगत गर्नाले रोगको प्रतिकारको उपायहरु बुझ्न सरल हुन्छ ।

छ) विकृत भएको स्थान त्याग ।

ज) दैवव्यपाश्रय चिकित्सा अर्थात् मणिधारण, जप, हवन, दान, धर्म आदि कर्महरु ।

झ) यदि मौसममा विकृति छ भने मौसम अनुरूपकै आचरण ।
माथिका केही बुँदाहरू अति रूढीवादी, अन्धविश्वासी देखिने र त्यसको कुनै तत्कालै परिणाम देख्न नसकिएता पनि त्यसको असर भने अवश्य पर्दछ र यदि त्यस्ता कर्महरु गर्ने नै हो भने पनि आफू र अरूलाई कुनै पनि दुष्प्रभाव भने अवश्य पर्ने छैन । त्यसैले मनन र व्यवहार गरौँ । आफू बचौँ र अरूलाई पनि सहयोग गरौँ ।

✍️लेखक पतञ्जलि मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धूलिखेलमा प्राध्यापनरत हुनुहुन्छ ।

Next Post