आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

के हुन कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड:

HNN Staff by HNN Staff
May 29, 2020
in Disease
A A
1
के हुन कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड:
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ प्रा. डा. रेवती रमण मल्ल
सिनियर कन्सल्टेन्ट फिजिसियन
मेडिकल बिभाग
चि.बि.रा.प्र. वीर अस्पताल

बिश्वमा सबैभन्दा पहिले चीनको उहान शहरमा २०७६ साल पुषको दोस्रो हप्ता तिर पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। नेपालमा भने २०७६ माघमा ९ मा पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। बिश्व स्वास्थ्य संगठन (WHO) ले २०७६ फागुन २८ गतेको दिन कोरोना लाई बिश्वब्यापी
महामारी (Pandemic) को रुपमा घोषणा गरेको थियो। नेपालमा २०७६ चैत्र ११ गते पहिलो पल्ट लकडाउनको घोषणा गरि लागू गरिएको थियो। यस प्रकार आजसम्म नेपालमा पहिलो कोरोना सन्क्रमित भेटिएको चार महिना ६ दिन बितिसकेको छ भने देशले लकडाउन घोषणा गरि लागू गरेको दुई महिना ५ दिन भैसकेको छ।

विश्व स्वास्थ्य संस्था (WHO) का डाईरेक्टर जनरल ले २०७६ साल माघ १६ गते (३० जनवरी २०१९ ) का दिन COVID-19 को प्रकोप लाई संसारभर का मुलुकहरु को तुरुन्त ध्यान जानुपर्ने पब्लिक हेल्थ ईमर्जेन्सीको रूपमा घोषणा गरेका थिए। यस अबस्थामा हरेक देशलाई क्वारेन्टाइन लागू गर्न सक्ने अधिकार हुनु स्वाभाविक हो। तर क्वारेन्टाइन लाई रोकथामका थुप्रै उपायहरू मध्य एक भागको रूपमा मात्र लिईनु पर्दछ। त्यस संगै WHO ले २०७६ चैत्र ६ गते (१९ मार्च २०२०) को दिन कोरोना रोकथामको सन्दर्भमा आफ्ना सदस्य राष्ट्रहरू लाई सन्क्रमितको सम्पर्कमा आएका ब्यक्तिहरु को क्वारेन्टाइन लागू गर्दा ध्यान दिनु पर्ने तथ्यहरु मा आधारित निर्देशिका या अन्तरिम मार्गदर्शन (Interim Guidance) जारी गरेको थियो; जसलाई निम्न बमोजिम उल्लेख गरिएको छ।

* क्वारेन्टाइन र आईसोलेसनमा मुल
   फरक के हो ?

क्वारेन्टाइन भन्नाले कोरोना रोग बाट सं क्रमित बा ल्याबटेष्ट बाट पुष्टि भएका ब्यक्तीको सम्पर्कमा आएको ब्यक्तिलाई अन्य स्वस्थ ब्यक्ति तथा समुदायको सम्पर्कमा गएर रोग फैलाउन नसकोस भन्ने अभिप्रायको साथै उक्त ब्यक्तिमा असुरक्षित सम्पर्क भएको दिन देखि १४ दिन भित्र कोरोना रोगको लक्षण देखा पर्छ या पर्दैन साथै पोजिटिभ ल्याब रिपोर्ट देखा पर्छ बा पर्दैन भनी एकिन गर्नको लागि निरन्तर निरिक्षण तथा निगरानी राख्नको लागि समेत उक्त अबधि भित्र निजलाई स्वतन्त्र रूपमा हिड्डुल गर्न रोक लगाएर निजमा बिकास हुन सक्ने सम्भाबित संक्रमण बाट बाकी स्वस्थ मानिसहरू वा समुदायमा रोग फैलिन बाट बचाउन को लागि अरु ब्यक्ति बा समुदाय भन्दा छुट्टै राख्ने प्रतिकारात्मक स्वास्थ्य सेवाको बिधि लाई क्वारेन्टाइन भनेर बुझ्नुपर्छ।

यसमा शुरुको अबस्थामा नै ब्यक्तिमा रोगको पहिचान तथा डायग्नोसिस गरि उपचार समेत समयमै हुन सकोस् भन्ने समेत मर्मको साथ यस भित्र रहने ब्यक्तिहरुको प्रत्यक्ष निगरानी र समय समयमा नियमित जाच तथा परिक्षण गर्ने प्रक्रिया समेत गासिनुको साथै रोग नियन्त्रणका लागि सहायक अन्य बिस्तृत बिधिका प्याकेजहरु पनि समेटिएको हुनुपर्छ भन्ने तथ्य लाई बिर्सनु हुँदैन।

क्वारेन्टाइन लाई कार्यान्वयन स्तरमा लागू गर्दा यसलाई कोरोना रोग नियन्त्रणका अन्य बिस्तृत उपाय तथा औजारहरु मध्य एउटा उपाय बा औजार को रुपमा लिएर अन्तरास्ट्रिय स्वास्थ्य नियमावली २००५ को आर्टिकल ३ अनुसार ब्यक्तिको प्रतिष्ठा, मानव अधिकार र मौलिक स्वतन्त्रता को सम्मान गर्दै कार्यान्वयन गरिनु पर्दछ।

तर आईसोलेसन भन्नाले CoV-19 भाईरस बाट सक्रमित भै बिरामी भैसकेको ब्यक्तिबाट अन्य स्वस्थ ब्यक्ति बा समुदायमा रोग सर्न बा फैलिन नपावस भन्ने उद्देश्यले उक्त ब्यक्तिलाई रोगको अबस्था अनुसार सामान्य भएसम्म छुट्टै ठाउँमा राखी उपचार गर्दै रोगको अबस्था जटिल बने नबनेको निगरानीमा राख्ने ब्यबस्था हो भनी बुझ्नुपर्छ। आइसोलेसन मा रहेका ब्यक्तिको स्वास्थ अबस्था जटिल बनेमा निज लाई अस्पतालमा भर्ना गरि उपचार गर्नुपर्ने हुन्छ।

यस बाट के प्रष्ट हुन्छ भने लक्षणहरु र ल्याबटेष्ट बाट कोरोना संक्रमण भएको पुष्टि नभएका तर सन्क्रमितको सम्पर्कमा रहेको हिस्ट्री (History) भएका मानिसलाई  क्वारेन्टाइनमा राख्नु पर्छ, भने क्वारेन्टाइनमा बा बाहिर नियमित स्कृनिङ्ग र ल्याबटेष्ट बाट कोरोना पुष्टि भएका लाई आईसोलेसनमा बा अस्पतालमा राख्नु पर्दछ।

यस प्रकार सन्क्रमण पुष्टि भएका ब्यक्तिहरु लाई आईसोलेसनमा राख्नुपर्छ भन्ने कुरामा कत्ति पनि भ्रम बा गडबडी हुनु हुदैन भन्ने कुरामा सरोकारवाला र सम्पुर्ण नेपाली नागरिक लाई म विनम्र आग्रह गर्न चाहन्छु।

* क्वारेन्टाइन को स्थापना अघि ध्यान दिनुपर्ने कुराहरू:

क्वारेन्टाइन लाई ब्यबहारमा लागू गर्नु भन्दा अघि त्यहाँ बस्ने मानिसहरू को मन भित्र हुनसक्ने अनावश्यक डर र शंकालाई हटाई बिश्वसनियता हासिल गर्नको लागि खुला छलफल तथा अन्तरक्रिया हुनु पर्दछ।

a) अधिकार प्राप्त निकायले नागरिक लाई
क्वारेन्टाइन प्रक्रिया बारेमा सफा, पारदर्शी, ताजा अपडेटका बिश्वसनिय सुचनामा आधारित गाईडलाईन निरन्तर रुपमा जारी गर्दै दिशानिर्देश गर्नु पर्नेछ।

b) क्वारेन्टाईनमा बस्ने मानिसहरू लाई बाच्नको लागि आबश्यक खाना, पानी, लत्ताकपडा र आबश्यक औषधि तथा स्वास्थ्य सेवाको साथै उनिहरु लाई आर्थिक, सामाजिक तथा मानसिक रूपमा सुरक्षित रहेको आभास  तथा भरोसा दिनुपर्ने छ। यस कार्यमा कमजोर तथा असहाय लाई बढी प्राथमिकता दिनु पर्ने हुन्छ।

c) क्वारेन्टाइन को सफलता तथा प्रभाबकारिता को लागि आर्थिक, सामाजिक तथा सास्कृतिक तत्वहरु ले प्रभाव पार्न सक्दछन। क्वारेन्टाइन राख्ने ठाउँ को छनौट को लागि स्थानीय अबस्था बारे छोटो र छिटो त्यहाँका राम्रा तथा कमजोर पक्षहरु बारे मुल्यांकन गर्नु पर्दछ, ताकी समुदायको संस्कृती अनुरुप स्थानिय सस्कृतीलाई स्विकार्य हुने गरि उपायहरु कार्यान्वयन गर्ने उपर्युक्त योजना बनाउन सकियोस।

* क्वारेन्टाइन कहिले लागू गर्ने ?

प्रकोप बा महामारीको शुरूवात संगै देशमा रोग पस्न बाट तथा निश्चित भूगोल बाट अर्को भुगोलमा रोग फैलिन बाट रोक्ने काममा  क्वारेन्टाइन जस्तो रोग नियन्त्रणको औजार ले महामारी फैलिने प्रक्रिया लाई कम गरि पिकमा जाने गति र समयलाई ढिलो गराउन सकिन्छ। तर यसलाई मापदण्ड अनुरुप सहि तरिकाले कार्यान्वयन तथा ब्यबस्थापन गर्न नसकिएको अबस्थामा भने यो पनि प्रदुषण वा दुषितकरण (Contamination) र रोग फैलिने (Transmission) को थप श्रोतको रूपमा परिणत हुन सक्नेछ।

अहिलेको COVID-19 रोगको प्रकोपको सन्दर्भमा बिश्वब्यापी नियन्त्रणको रणनीति भनेको नै शुरुको अबस्थामा नै ल्याबटेष्ट बाट पुष्टि भएका कोरोनाका बिरामीहरु लाई छिटोभन्दा छिटो पहिचान गरि तिनीहरु सबैलाई आइसोलेसनमा राख्ने र आबश्यकता अनुसार स्वास्थ्य संस्थामा भर्ना गरि यथोचित स्वास्थ्य सेवा बाट ब्यबस्थापन गर्ने भन्ने रहेको छ।

त्यस्तै बिश्व स्वास्थ्य सस्था (WHO) ले ल्याबटेष्ट बाट COVID-19 रोग पुष्टि भएका सन्क्रमित ब्यक्ति संग सम्पर्कमा आएका मानिसहरू लाई सम्पर्कमा आएको दिन देखि चौध दिनसम्म क्वारेन्टाइनमा राख्ने सिफारिस गरेको छ।

* सम्पर्कमा आएको ब्यक्ति भन्नाले के बुझ्ने ?

१) COVID-19 को बिरामी संग एक मिटर भन्दा कम दुरिमा कम्तिमा १५ मिनेट सम्म आमने सामने भएको ब्यक्ति;

२) PPE नलगाईकन COVID-19 को बिरामीको कम्तीमा १५ मिनेट सम्म हेरचाह गरेको ब्यक्ति ;

३) COVID-19 को बिरामी संग बन्द बाताबरणमा बसेको ब्यक्ति जस्तो संगै काम गर्ने थलो, कक्षा कोठा, एउटै फ्ल्याट मा बसेको बा कुनै किसिमको समुह वा भिडमा जम्मा भएको ब्यक्ति ;

४) COVID-19 को बिरामी संग १ मिटर भन्दा कम दुरिमा बसेर कुनै पनि सवारी साधनको प्रयोग गरि यात्रा गरेको ब्यक्ति ;

५) बा स्थलगत निरीक्षणमा देखिएका अन्य प्रकृतिका असुरक्षित अबस्था लाई सम्पर्कमा आएको भनी बुझ्नु पर्दछ।

* क्वारेन्टाइन स्थापनाको सिफारिस को लागि आबश्यक भौतिक संरचना:

क्वारेन्टाइन सञ्चालन गर्नु भन्दा अघि सरोकारवाला निकाय कम्तिमा निम्न लिखित भौतिक संरचना भए नभएको बारेमा स्पष्ट हुनुपर्ने छ।

१) क्वारेन्टाइन स्थापना गर्न लागिएको स्थान र भित्री तथा बाहिरी संरचना सो प्रयोजन को निमित्त उपर्युक्त हुनुको साथै क्वारेन्टाइन अबधिभर खाना, पानी को ब्यबस्था र ब्यक्तिगत तथा संरचनागत सरसफाइ उपर्युक्त ढंगबाट गर्न सम्भब छ भन्ने बिषयमा;

२) न्युनतम संक्रमण रोकथाम तथा नियन्त्रण  Infection Prevention & Control Measures (IPS) का उपायहरू उपर्युक्त ढङ्गबाट लागू गर्न सकिन्छ भन्ने बिषयमा ;

३) क्वारेन्टाइनको अबधिभर त्यसमा रहने मानिसहरू को न्युनतम आबश्यकता पूरा गर्नुको साथै उनिहरुको स्वास्थ्यको रेखदेख तथा निगरानी गर्न सकिन्छ भन्ने बिषयमा;

उपरोक्त बिषयहरुमा सरोकारवाला स्पष्ट र बिश्वस्त भएको अबस्थामा मात्र क्वारेन्टाइन सञ्चालन गर्नुपर्ने हुन्छ।

* WHO ले सिफारिस गरेको न्युनतम मापदण्डहरु के हुन ?

क्वारेन्टाइन लागू गर्नु भन्दा अघि अधिकार प्राप्त निकायले तलका न्युनतम सुबिधा पुर्याउन सकिन्छ भन्ने एकिन गरेपछी मात्र क्वारेन्टाइन घोषणा गरि लागु गर्नु पर्दछ:

१) जिउनको लागि आबश्यक न्युनतम आधारभुत आबश्यक खाने कुरा, पिउने पानी लगायत, ब्यक्तिगत स्वास्थ्य र सरसफाइ को लागि आबश्यक पटकपटक हात धुने र सुरक्षित बाथरुम सहितको सिंगल रुम उपलब्ध गर्न सकिने निश्चित भएमा; सिंगल रुम उपलब्ध हुन नसकेमा दुई बेड बिचको दुरि कम्तीमा १ मिटर राख्नु पर्नेछ ;

२) वातावरणीय संक्रमण नियन्त्रणको लागि अत्यावश्यक प्रशस्त भेन्टिलेसन, एयर फिल्ट्रेसन र उपर्युक्त फोहोर ब्यबस्थापन को प्रोटोकल अपनाउन सकिने ब्यबस्था भएको हुनुपर्ने छ।

३) क्वारेन्टाइन मा रहेका मानिसहरू बिच कम्तिमा एक मिटरको दुरि राख्न सक्ने ब्यबस्था भएको हुनुपर्ने छ।

४) क्वारेन्टाइन को आवासमा निम्न सुबिधाको ब्यबस्था हुनु पर्नेछ:

a) खाने पियुने र ब्यक्तिगत सरसफाइको ब्यबस्था;

b) लगेज तथा अन्य ब्यक्तिगत सामानहरु को सुरक्षाको ब्यबस्था;

c) बर्तमान अबस्थामा उनीहरुको स्वास्थ्यको यथोचित उपचारको ब्यबस्था;

d) क्वारेन्टाइनमा बस्ने मानिसहरू ले बुझ्ने भाषामा उनीहरुको हक, अधिकार र पाउन सक्ने सेवाहरु, कति दिन सम्म क्वारेन्टाइनमा बस्नु पर्छ भन्ने बारे तथा उनीहरु बिरामी भएको अबस्थामा कसरी कस्तो उपचारको ब्यबस्था गरिन्छ आदि बारे बिस्तृत छलफल गरि जानकारी दिने ब्यबस्था को साथै स्थानीय राजदुतावास बा कन्सुलर अफिसको सम्पर्क सुचना दिने ब्यबस्था;

e) बाहिर रहेका परिवार संग कुरा गर्न पाउने सुबिधाको ब्यबस्स्था;

f) सम्भब भएसम्म ईन्टरनेट, समाचार पढ्ने र मन भुलाउने मनोरञ्जन को ब्यबस्था;

g) मनोभाबात्मक भरोसा बा सहारा पाउने ब्यबस्था;

h) जेष्ठ नागरिक र अन्य दिर्घरोग भएका लाई COVID-19 बाट बढी जटिल समस्या हुनसक्ने भएकोले उनीहरु लाई बिशेष ध्यान पुर्याउने ब्यबस्था;

क्वारेन्टाइन को निमित्त उपर्युक्त स्थान रोज्नु पर्दा होटेल, निजि नर्सिङ्ग होम, रिसोर्ट, छात्राबास, पार्टी प्यालेसहरु आदि लाई छनौट गर्न सकिन्छ। जसमा सुरक्षित र प्रभाबकारी क्वारेन्टाइन को लागि उपर्युक्त ब्यबस्था प्राप्त हुन सकियोस।

* होम क्वारेन्टाइनका न्युनतम मापदण्ड:

१) होम क्वारेन्टाइन को लागि बाथरुम सहितको सिंगल रुमको ब्यबस्था;

२) सो उपलब्ध हुन नसक्ने अबस्थामा घरको अन्य सदस्य बाट कम्तीमा एक मिटरको शारीरिक बा भौतिक दुरि हुनुपर्ने छ;

३)  छुट्टै भाडाकुडा तथा ब्यक्तिगत प्रयोगका सामानहरु र आफुले प्रयोग गर्ने खाली ठाउँ, भान्सा कोठा र बाथरुमको छुट्टै ब्यबस्था भएको;

४) ताजा हावा आउने भेन्टिलेसन भएको।

* न्युनतम संक्रमण रोकथाम र नियन्त्रणका उपाय (Minimum Infection Prevention & Control Measures) :

क्वारेन्टाइन मा बसेका ब्यक्तिहरुको सुरक्षित बाताबरण को लागि निम्नलिखित संक्रमण रोकथाम र नियन्त्रणका बिधिहरु [Infection Prevention & Control Measures] (IPS) अबलम्बन गरिनु पर्दछ।

A) शुरुवातमा नै रोगको पहिचान र नियन्त्रण:

१) क्वारेन्टाइन भित्र बसेका मानिसहरू लाई चौध दिन भित्र कुनै समय बिन्दुमा ज्वरो आएमा वा स्वासप्रस्वास सम्बन्धि कुनै पनि लक्षण देखिएमा निजलाई COVID-19 रोग नै भएको मानेर त्यही अनुसार निजको उपचार र ब्यबस्थापन गरिनु पर्दछ।

२) क्वारेन्टाइन भित्र रहने सबै ब्यक्ति र निगरानी तथा ब्यबस्थापनमा खटिने कर्मचारीहरु दुबै पक्ष लाई तल उल्लेख भए बमोजिम स्तरीय उच्च मापदण्ड पूरा गर्न को लागि आबश्यक साबधानी अपनाउनु पर्ने नियम लागू गर्नु पर्नेछ।

a) पटक पटकपटक  हात धुने, खासगरी खोक्दा बा हाछियु गर्दा स्वासप्रस्वास प्रणाली  बाट निस्कने ड्रपलेटहरु छोएको बा परेको अबस्थामा साथै खाना खानु अघि र ट्वाईलेट गएपछि हातको सरसफाइ गर्नुपर्ने छ। हातको सरसफाइको लागि साबुन पानी बा ह्यान्ड स्यानिटाईजलर को प्रयोग गर्नु पर्छ। साधारण तया देखिने फोहर लागेको अबस्थामा साबुनपानीले हात धुनु पर्छ भने देखिने फोहर नभएको अबस्थामा ६२-७१% अल्कोहोल भएको ह्यान्ड स्यानिटाईजर प्रयोग गर्न सकिन्छ।

b) क्वारेन्टाईन भित्र बस्ने मानिसहरू को स्वासप्रस्वास मार्गको सरसफाइ मापदण्ड अनुरुप हुनुपर्ने छ। खोक्दा, हाछिउ गर्दा कुहिनाको भित्रि भागले बा टिस्यु पेपरले नाक मुख छोप्ने, तुरुन्त टिस्यु पेपरलाई बिर्को सहितको वेस्ट बास्केटमा सुरक्षित तरिकाले फाल्ने र त्यसपछि नाक मुख सफा गर्ने बानी ब्यहोराको महत्त्व बारे सबैलाई बुझाई व्यबहार मा उतार्न लगाउनु पर्नेछ।

c) अनावश्यक रूपमा नाक, मुख, ओठ,  आखा छुने बानी लाई निषेध गर्नुपर्ने छ।

(B) प्रशासनिक रेखदेख तथा नियन्त्रण:

क्वारेन्टाइनमा Infection Prevention & Control Measures (IPS) को लागि प्रशासनिक नीति तथा नियन्त्रणको ब्यबस्था तल उल्लेख भए बमोजिम हुनुपर्ने भएपनि यतिमा मात्र सिमित नहुन सक्नेछ।

a) आबश्यकता अनुरुपको उपर्युक्त र सहि  सुबिधाको डिजाइन गरि दिगो रहन सक्ने IPS को पुर्बाधार को स्थापना गरि त्यसलाई कार्य रूपमा कृयाशिल बनाउनु पर्ने छ।

b) IPS (Infection Prevention & Control System) को नजिक बाट निगरानी र सुरक्षा गर्न सकिने ब्यबस्था मिलाईनु पर्नेछ। क्वारेन्टाइन को रेखदेख गर्ने ब्यक्ती र क्वारेन्टाइनमा बस्ने मानिसहरू दुबै पक्ष लाई स्तरीय मापदण्ड अनुरुप विभिन्न साबधानी रहनु पर्ने अत्यावश्यक कामहरू बारे यथोचित ज्ञान बा तालीम दिईएको हुनु पर्नेछ। साथै  दुबै पक्षलाई लक्षणहरु देखिँदा साथ बा ब्यक्तिको स्वास्थ्यमा कुनै परिबर्तन आउँदा साथ तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्दा हुने फाईदाको महत्व बारे तालिम दिई राम्रो संग बुझाईएको हुनुपर्ने छ।

c) रोगको शुरूवात मा नै रोगको पहिचान गरि उपचारको लागि आईसोलेसन बा स्वास्थ्य संस्थामा रिफर गर्ने नीति र प्रणालीको बिकास र ब्यबस्था गरिएको हुनुपर्ने छ।

(C) वातावरणीय सरसफाइ:

वातावरणीय सरसफाइ र डिसईन्फेक्सन प्रक्रिया उपर्युक्त सहि तरिका बाट निरन्तर रूपमा गर्नुपर्ने छ। वरिपरि वातावरणका सतहहरु को नियमित रूपमा राम्रो संग सफाई हुन सकोस् भन्ने उद्देश्यले सरसफाइका कर्मचारीहरु लाई COVID-19 रोग बाट बच्ने उपायहरु बारेमा राम्रोसँग बुझाउनु पर्ने छ।

a) हातले पटकपटक छोईरहनु पर्ने सतहहरु मा १ भाग ब्लिचिङ्ग पाउडर लाई ९९% पानी संग मिसाएर बनाएको सोलुसनले दिनदिनै सफा गर्नु पर्छ। यो सोलुसन बाट सफा गर्न नसकिने ठाउँ मा ७०% अल्कोहोल ले सफा गर्नु पर्दछ।

b) एक भाग ब्लिचिङ्ग पाउडर लाई ९९ भाग पानी संग मिसाएको घोल प्रयोग गरि बाथरुम र ट्वाईलेटका सतह हरु मा कम्तीमा दिनको एकपल्ट सफा संग डिसिन्फेक्सन गर्नुपर्ने छ।

c) लुगा, तन्ना, नुहाउने र हाते रुमाल जस्ता कपडाहरु लाई सामान्य लाउन्ड्री डिटरजेन्ट प्रयोग गरि ६० देखि ९० डिग्री को तापक्रममा वासिङ्ग मसिनले धुनु पर्छ। सो उपलब्ध नहुने अबस्थामा साबुन पानीले धोएर राम्रोसँग सुकाउनु पर्छ।

d) फोहर ब्यबस्थापन को लागि खुला ठाउँमा फाल्ने नभै स्यानिटरी ल्यान्डफिल को ब्यबस्था गरि प्रयोग गर्नु पर्नेछ।

e) सफाई कर्मचारीले तन्ना, खोल, रुमाल आदि कपडा छुनु भन्दा अघि डिस्पोजेबल पञ्जा प्रयोग गर्नुपर्ने छ। पञ्जा लगाउनु अघि वा पछि राम्रो संग साबुन पानीले हात धुनु पर्नेछ।

D) क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको स्वास्थ्य निगरानीको लागि आबश्यक न्युनतम कुराहरू:

क्वारेन्टाइनमा रहेका सम्पुर्ण ब्यक्तिहरुको सो अबधि भर तापक्रम हेर्ने र उनिहरुमा रोगका कुनै नयाँ लक्षण देखिएको छ बा छैन भनी प्रत्येक दिन स्कृनिङ्ग र फलोअप गर्नु पर्नेछ।
संक्रमण बाट बढी खतरा र जटिलता हुन सक्ने खास समुहका ब्यक्तिहरु लाई थप निगरानी राख्दै आबश्यकता अनुसार बिशेष उपचारको समेत ब्यबस्था गर्नुपर्ने छ।

क्वारेन्टाइन लाई सफलता का साथ सञ्चालन गर्नको लागि आबश्यक स्रोत साधन तथा जनशक्ति को ब्यबस्था गर्न तथा खटिएका कर्मचारी को आरामको लागि समेत ध्यानमा राखी त्यसको ब्यबस्थापन गर्नुपर्ने छ। प्रकोप जारी रहेको अबस्थामा स्वास्थ्य जनशक्तिलाई केस डिटेक्सन गर्ने र स्वास्थ्य सेवा दिनुपर्ने काममा बढी प्राथमिकता दिनुपर्ने अबस्थामा यसले खास महत्व राख्ने छ। क्वारेन्टाइनको अबधि सकिने समयको अन्त तिर क्वारेन्टाईनमा रहेका सबैको घाँटीबाट (Naso-pharyngeal Swab) थ्रोट स्व्याब को स्याम्पल लिएर ल्याबटेष्ट को लागि पठाउनु पर्नेछ र टेष्ट रिपोर्ट नेगेटिभ भएमात्र समुदायमा पठाउन सकिनेछ। तर रिपोर्ट पोजिटिभ भएमा रोगको जटिलता को स्तर हेरि मापदण्ड पूरा भएको आईसोलेसन, अस्पतालको वार्ड बा आईसियु मा भर्ना गरि सघन उपचार सेवा दिनुपर्ने छ।

हाम्रो जस्तो सिमित श्रोत साधन भएको मुलुकमा एक्कासि आएको यो प्रकोपको अबस्थामा WHO को निर्देशिका अनुरुप सबै कुरा एकैपल्ट ब्यबस्थापन गर्न गाह्रो हुनसक्छ। तथापि यसका मुल मर्महरुमा गल्ती नगरीकन बा नछुटाईकन क्वारेन्टाइन बा आईसोलेसनको ब्यबस्थापन हुनुपर्ने देखिन्छ।

देशमा कोरोनाको संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढ्न थालेको आजको अबस्थामा देश र जनता लाई थप क्षति हुन बाट बचाउनको लागि निम्नलिखित प्रयासहरु थप उपयोगि हुनसक्ने देखिन्छ :

१) साना साना टास्क फोर्स बा टिमहरुको स्वरुपमा केही परिवर्तन र थप जिम्मेवारि:

नेपाल सरकारले गत बैशाख १२ गते १ जना जनस्वास्थ्य अधिकृत, १ जना ल्याब टेक्निसियन र १ जना नर्स बा प्यारामेडिक हुने गरि स्थानीय तहहरु मा ३ देखि ५ वटा टिम बा हरु बनाई खटाउने निर्णय गरेको थियो। जुन ढिलै भएपनि आफैमा प्रशंसनीय कार्य हो। तर यस कार्यको लागि प्यारामेडिक, नर्स र ल्याब असिस्टेन्टहरु को फिल्डमा भन्दा स्वास्थ्य संस्थाहरुको उपचारात्मक स्वास्थ्य सेवा दिने कार्यमा बढी आबश्यक पर्ने र कोरोना संक्रमितको संख्या बढ्दै गएको अबस्थामा अस्पताल, हेल्थ सेन्टर तथा हेल्थपोस्टहरु मा यी जनशक्तिको एक्कासि अभाब हुनसक्ने सम्भावना रहेको र यिनिहरुमा ट्रेसिङ्ग जस्तो प्रतिकारात्मक (Preventive Health Service) स्वास्थ्य सेवा सम्बन्धि कामको लागि ज्ञान तथा अनुभव पनि कम हुनसक्ने भएकोले यि कार्यको लागि जनस्वास्थ्य अधिकृत र स्वास्थ्य निरीक्षकहरु को भुमिका नै बढी प्रभाबकारी हुने देखिन्छ। देशभरी का जिल्ला स्वास्थ्य कार्यालय बा जिल्ला, अञ्चल, प्रादेशिक अस्पताल तथा क्षत्रीय निर्देशनालय र प्रदेशका सामाजिक बिकास मन्त्रालयमा रहि काम गरिरहेका सबै तहका जनस्वास्थ्य अधिकृत र स्वास्थ्य निरीक्षकहरु लाई कोभिड-19 रोगको नियन्त्रण नहुदा सम्म केन्द्र बा प्रदेशमा एकै छाता मुनि तानेर ट्रेसिङ्ग, ट्र्याकिङ्ग र निगरानी गर्ने जिम्मामा सम्मीलित गराउन सकिएको खण्डमा छोटो समयमा लक्षित उद्देश्य हासिल गर्नै पर्ने महत्वपूर्ण यस्ता अभियानहरु अझै बढी प्रभाबकारी ढङ्गबाट सम्पन्न हुन सछन भन्ने कुरामा कुनै शंका नहोला। त्यसैले यस्ता टिम तथा टास्क फोर्समा १ जना जनस्वास्थ्य कर्मी, १ जना स्थानीय स्वयंसेवी बा सामाजिक कार्यकर्ता, १ जना स्थानीय जनप्रतिनिधि र १ जना प्रहरी सम्मीलित हुने गरि टिमहरु बनाउन सकियो भने उपचारात्मक स्वास्थ्य जनशक्ति (Curative Health Manpower) को आबश्यकता कम पर्न जाने, स्थानीय समुदायलाई चिन्ने, बुझ्ने, बुझाउने र उत्प्रेरित (Motivate) गराउने महत्वपुर्ण कार्यमा बल मिल्ने र एकअर्का प्रती जवाफदेहि तथा उत्तरदायी हुने कार्यमा समेत थप बल मिल्ने भएकोले अझ बढी प्रभाबकारी ढंगबाट लक्षित उद्देश्य हासिल गराउन सजिलो हुने देखिन्छ। लकडाउनको समयमा पनि यस्ता टिमहरु को काम सुरक्षित तरिकाले जारी राख्न सकिएमा लकडाउनको समय लाई क्रमिक रुपमा घटाउन सहयोग मिल्दछ। तर यस्ता टिमलाई परिचालन गर्दा रोग बाट बच्ने सबै सुरक्षाका साधन उपलब्ध गराईनु पर्दछ। आबश्यकता अनुसार समझदारीमा यस्ता टिमका संख्या निर्धारण गर्न सकिन्छ।

अथवा यदि यस्ता स्वरुपका टिमहरु बनाउन अफ्ठेरो भएमा अहिले बनेको टिमलाई पनि केही परिमार्जन गरि यस्ता जिम्मेवारी दिन सकिन्छ।

(क) स्वास्थ्य शिक्षा दिई नागरिक लाई जागरुक र उत्प्रेरित गराउने काममा:

यी टिमहरुलाई उपत्यका बाहिर निश्चित जिल्लाहरु मा र उपत्यकाको रिङ्ग रोड बाहिरका पुराना तथा नयाँ बस्तीहरुमा खटाई कोरोना रोग, यसले पार्न सक्ने प्रभाव, बच्ने उपाय र सरकारको प्रयासहरु मा नागरिकको दायित्व बारेमा टोल टोल मा खटाएर स्वास्थ्य शिक्षा दिने, जन चेतना फैलाउने काम गर्न सकिएमा हरेक नागरिक को मनमा भित्रै बाट उत्प्रेरणा (Motivation) जगाउन सकिने भएकोले लकडाउन, क्वारेन्टाइन, आइसोलेसन जस्ता राज्यले अपनाएका महत्त्वपूर्ण प्रयासहरु लाई सफल बनाउन थप बल मिल्ने देखिन्छ। साथै यस बाट नागरिकको मन भित्र रहेको हुन सक्ने गलत सोच, शंका र दुबिधा लाई हटाउने अबसर प्राप्त हुने भएकोले उनिहरुको साथ, सहयोग र सहकारिता लाई बढाउन मद्धत मिल्न सक्छ।

(ख) कन्ट्याक्ट् ट्रेसिङ्ग गर्ने जिम्मेवारीमा :

माथी उल्लेख गरिएको जस्तो टिम बा टास्क फोर्स लाई संक्रमित मानिसको सम्पर्कमा आएका मानिसहरू लाई खोजी गर्ने कार्य (contact tracing), पाईला पछ्याउने कार्य  (tracking) र उनीहरुको निगरानी राख्ने कार्य (surveillance) मा खटाउदा लक्षित उपलब्धि हासिल गर्न सजिलो हुने देखिन्छ।

यसको साथै कोरोनाको शंकास्पद लक्षण भएका बा रुघाखोकी संग ज्वरो आएको अबस्था (flue like illness) र संबेदनशिल
स्थान बाट भित्रिएर समुदायमा लुकेर बसेका मानिसहरू लाई खोजी गर्ने, पहिल्याउने र  उनीहरु लाई आबश्यकता अनुसार ल्याबटेष्ट, क्वारेन्टाइन बा आइसोलेसनको दायरामा ल्याएर उचित ब्यबस्थापन गरि समुदायमा रोग फैलिएर हुन सक्ने जटिल अबस्था बाट जोगाउन सकिन्छ।

ग) मोबाईल एप को थप उपयोग:

सरकारले हाल प्रयोगमा ल्याएको वेबसाइट र मोबाइल एपको प्रयास स्वागतयोग्य छ। तर यस्ता एपहरुको माध्यम बाट आफ्नो बा शंकास्पद ब्यक्तिको सूचना पठाउने ब्यबस्थाको साथ साथ एपको माध्यम बाट हरेक सन्क्रमित ब्यक्ती थपिएको बारेमा उनी बर्तमान अबस्थामा रहेको ठाउँ, उनलेे गरेको यात्राको विवरण, प्रयोग भएको बाटो बा राजमार्ग बारे पनि नागरिक लाई पनि सुचित गर्ने काम भएको खण्डमा सम्भाबित क्षेत्रका मानिसहरू लाई अरु बढी सचेत र सतर्क हुन सहयोग मिल्न सक्छ। यसको लागि नयाँ शंकास्पद लक्षण भएका बा असुरक्षित सम्पर्कमा आएका मानिसहरू देखिएको सूचना आउँदा साथ नागरिकहरु को मोबाइलमा भाईब्रेट हुने ब्यबस्था गर्न सकियो भने निश्चित ईलाका का नागरिकहरु लाई सचेत हुन बल मिल्न सक्छ। तर यसमा स्थानीय बासिन्दा हरु बढी नै आतंकित नहोउन भन्ने कुरामा पनि सजगता अपनाउनु पर्दछ।

त्यस्तै सिसि क्यामेराका फूटेज, क्रेडिट कार्ड र मोबाइल फोनका रेकर्डहरु, प्रयोग भएका सवारीको साधनको तथ्यांक, सवारी को साधन छुटेको र गन्तव्यमा पुगेको समय आदि सबै ट्रेसिङ्ग कार्यको लागि सहायक हुन सक्दछन। साथै ब्यक्तिगत गोपनियता भन्दा नागरिकको सामुदायिक सुरक्षा बढी महत्वोपुर्ण हुने भएकोले सरकारले पनि त्यसलाई सजिलो र अनुकुल बनाउन केही नियम तथा ब्यबस्थापन मा खुकुलो गर्नुपर्ने हुन्छ ।

सम्पर्कमा आएका मानिसहरू को ट्रेसिङ्ग गर्दा २४ घण्टामा ८० प्रतिशत मानिसहरू को अन्तरबार्ता हुनुपर्ने बिश्वब्यापी मान्यता छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७७ बैशाख ३१ गते ट्रेसिङ्ग सम्बन्धि निर्देशिका जारी गरेको छ। आजको परिप्रेक्ष्यमा Contact Tracing, Contact Tracking र Surveillance जस्ता रोकथामका प्रतिकारात्मक औजारहरु कोरोना रोग नियन्त्रणको लागि यति ठूलो, यति बृहत् र यति महत्वपूर्ण अर्थ राख्छन् कि आजको अबस्थामा बिश्वमा यसको कुनै विकल्प देखिएको छैन। यसमा अल्छी लागेर काम बीचमा छोड्ने, पछि फेरि गरौंला भन्ने, पन्छ्याउने, ढिलो गर्ने, सजिलो खोज्ने, कागजमा मात्र काम देखाउने जस्ता काम झुक्किएर मात्र पनि कार्यान्वयन तहमा हुन गयो भने यसले भित्र भित्र समुदायलाई ठूलो हानी पुग्न सक्ने अबस्था लाई नकार्न सकिदैन। यसैले सबैको साथ, सहयोग, समन्वय, सहभागिता र सक्रियता महामारी नियन्त्रणमा ठूलो अर्थ राख्दछन् ।

घ) लकडाउन, क्वारेन्टाइन लगायतका उपाय  लाई सफल बनाउन सहयोग गर्ने काममा:

पहिलेको तुलनामा लकडाउन पालन गर्ने काममा केही सुधार भएको भएपनी अहिलेको कडा निर्देशनका बाबजुद लकडाउन लाई पुर्णतया इमानदारीका साथ नागरिकले पालन गरेको देखिएको छैन। बिशेष गरि रिङ्ग रोड बाहिर मानिसहरू खुलेआम निर्धक्क संग हिडेका देखिन्छन् । प्राईभेट गाडी, मोटर साईकलहरु विभिन्न बहानामा चलिरहेका देखिन्छन् मानौ यो लकडाउन नागरिकको लागि हैन केबल सरकारको लागि हो। जब सम्म हरेक नागरिकले लकडाउन तथा अन्य रोकथामका औजारहरु हाम्रो आफ्नै भलाईको लागि हो भन्ने कुरामा पुर्णतया आफैमा उत्प्रेरित (Motivated) भै आत्मसात गर्न सक्दैनन्  , तबसम्म सरकारका सबै कोशिषहरु नाकाम साबित हुनसक्छन् । गाउँ गाउँ र टोल टोलमा यस्ता टिमहरु बाट स्वास्थ्य शिक्षा दिने काम भयो भने नागरिकको चेतनशीलता, जागरुकता र उत्प्रेरणामा वृद्धि भै नागरिकको तर्फबाट यस्ता नियन्त्रणका उपाय तथा औजार लाई सफल गराउन थप बल मिल्न सक्छ।

२) ल्याबटेष्टको दायरा बढाउदै लैजाने:

अहिले सरकारले पिसिआर परिक्षणको दायरालाई बढाउदै लगेको देखिन्छ, जुन सह्राहनीय प्रयास हो। लक्षित समूह लाई प्राथमिकता दिदै यो गतिलाई हरेक जिल्लामा बढाउदै लानु बिबेक सम्मत हुनेछ। तर सिमा पारी बाट भित्रिएका मानिसहरू लाई पिसिआर नगरी आर्डिटी टेष्ट मात्र गरेर उनिहरुको पहाडको घर बा टाढाको जिल्लामा पठाउने काम भयो भने तत्कालको लागि हाम्रो सिमाका जिल्लाहरू लाई सजिलो हुने भएपनि यसले छिटै नै देशभरी भयानक अबस्था सृजना हुन सक्ने भएकोले सिमाका जिल्लाका अथबा प्रदेश सरकारले बनाएका क्वारेन्टाइन बा आईसोलेसन मा नै यिनिहरुको ब्यबस्थापन हुनु पर्दछ। पुर्बको तराईमा भित्रिएका दोलखाका नागरिकहरु लाई भित्रिएको नाका का जिल्लामा क्वारेन्टाइनको क्षेमता नभएको भनी आर्डिटी गरेपछि समन्वय गरि उनीहरुको घर दोलखामा पठाउन लागिएको भन्ने खबर  सुनिएको थियो। जुन खबर गलत साबित होस भन्ने कामना गर्दछु। सबैलाई नेपाल तर्फको सिमाका  जिल्लाहरु मा नै ब्यबस्थापन हुनुपर्छ। पिसिआर टेष्ट नै नगरी नागरिकलाई पहाडी बा टाढाको जिल्लामा पठाउने सोच घातक हुन सक्छ।

३) सिमा नाकाहरुमा थप कडाई गर्नु पर्ने:

कुनै टेष्ट नै नभै नेपाल भित्रिएका मानिसहरू को संख्या बढ्दै गएकोले यसले मुलुकलाई ठुलो समस्या सृजना गरेको छ। तिनलाई  सिमावारि नै क्वारेन्टाइन बा आईसोलेसनमा ब्यबस्थापन गर्न सकियो भने तिनीहरु मध्य पनि थप कोरोना पोजिटिभ हुनसक्ने सम्भावना र संख्यालाई कम गर्न सकिन्छ।

४) क्वारेन्टाइन र आईसोलेसनको क्षेमता र गुणस्तर मा वृद्धि गर्नुपर्ने:

जतिसुकै प्रयास गर्दा पनि भारत बाट भित्रिने को संख्या घटाउन नसकिएकोले सिमा नाकाहरु मा कडाईका साथै तराईको बोर्डर एरियामा हाम्रो आफ्नै सिमा वारि क्वारेन्टाइन र आईसोलेसनको संख्या, क्षमता र गुणस्तरमा वृद्धि गर्न जरुरी देखिन्छ। यसको लागि केही प्रदेश सरकारले निर्णय समेत गरेको बुझिएको छ। भारतका दिल्ली, मुम्बई, पञ्जाब, गुजरात, तामिलनाडु जस्ता राज्यहरु बाट करिब ३ करोडको संख्याका मजदुरहरु आफ्नो घर यु.पि. बिहारमा फर्किने क्रम बढ्दो छ। यिनिहरुलाई रेल र बस सेवा बाट घर पठाउने कार्यहरू केही दिन यता बढ्दै गएको देखिन्छ। यिनमा धेरै जसो असुरक्षित तरिकाले ले बसेका र यात्रा गरेका देखिन्छन् । युपिका अधिकारी हरुको भनाई लाई मान्ने हो भने यिनमा मुम्बई बाट आउने ७५ प्रतिशत, दिल्ली बाट आउने ५० प्रतिशत र गुजरात बाट आउने २५ प्रतिशत कोरोना पोजिटिभ हुन सक्ने आकलन गरिएको छ। ती मध्य ३ देखि ५ प्रतिशत मात्र नेपाली मजदुरहरु भएको खण्डमा नेपालको के हाल होला ? यहाँका क्वारेन्टाइन र आइसोलेसनले कसरी ब्यबस्थापन गर्न सक्लान् भन्ने सोचनिय बिषय बनेको छ।

तथापि हामीले हर हालतमा तिनीहरुको उचित ब्यस्थापन गर्नुको बिकल्प छैन। त्यसमा कुनै लापरबाही बा कमजोरी हुन गयो भने त्यसको मुल्य सिंगो देशले चुकाउनु पर्नेछ। तर देशमा बिद्यमान धेरै जसो क्वारेन्टाइन र आईसोलेसन हरु ब्यबस्थित हुन नसकेको सुनिएको छ। हाम्रो देशमा केन्द्रमा निति, निर्देशन तथा निर्देशिका बन्ने तर जनस्तरमा लक्षित समुदायमा पुग्न नसक्ने पुरानो समस्या छ। त्यसमा सुधारको कार्य जारी रहेको भएता पनि समस्या निर्मुल भैसकेको छैन।

मिटिङ्गहरु मा महत्त्वपूर्ण एजेन्डा बारे सक्रिय छलफल हुने, स्वागत र प्रशम्सा हुने, ठ्लो आवाजमा सकृय सहभागी हुने, प्रतिबद्धता आउने; आदेश, निर्देशन, निर्देशिकाको अक्षरस पालन तथा कार्यान्वयन गर्ने वचन र प्रतिबध्दता को शारीरिक भाषामा टाउको राम्रै संग हल्लिने तर ब्यबहारमा एउटा पत्र बनाएर पठाउने काममा मात्र सिमित हुने चलन र मानसिकतामा परिवर्तन भएको देखिएको छैन। देशमा संघयता लागू भैसक्दा पनि हाम्रो नेपाली सोच भनौं, बानी ब्यहोरा भनौं या परम्परा भनौ नेतृत्व नै खटिएर केन्द्रको निति, निर्देशिका बा केन्द्रको निर्देशन अनुसार काम भैरहेको छ छैन भनी हेर्नको लागि नेतृत्व नै फिल्डमा गएर हेर्नुपर्ने, निरीक्षण गर्नुपर्ने, आदेश दोहोर्याई रहनुपर्ने पुरानो मानसिकता मा परिवर्तन आउन सकेको छैन। त्यसमा पनि आजको आपद माथी देखि तल सम्म सबैको हो भन्ने सबै लाई थाहा छ। माथिको सुपरभिजन गर्ने आउँदा सबैलाई जागर चल्ने, सबैले सबैकुरा बुझ्ने, नियम मापदण्डअनुसार काम गर्नुपर्छ भन्ने लाग्ने तर त्यो नहुदा राम भरोसामा छोड्ने परम्परामामा आमूल परिवर्तन ल्याउनुपर्ने आबश्यकता छ। बजेट सक्नु नै कायान्वयन हुनु हो भन्ने मानसिकता बाट हामी माथी उठ्न जरुरी भैसकेको छ। क्वारेन्टाइन, आईसोलेसन लाई मापदण्ड अनुसार सञ्चालन गर्ने, कन्ट्याक्ट् ट्रेसिङ्ग, ट्र्याकिङ्ग र निगरानी लाई समयमा नै सफल र प्रभाबकारी बनाउने यी यस्ता कुराहरु हुन जसमा अलिकति पनि त्रुटि हुन गयो भने त्यसबाट कल्पना गर्न नसकिने भयावह अवस्था सृजना हुनसक्छ। यसैले आजको अबस्थामा प्रदेशका जिम्मेवार मन्त्रालय यस सम्बन्धमा सजग, सचेत र कृयाशिल हुन जरुरी देखिन्छ।

५) क्वारेन्टाइन, आईसोलेसन, अस्पताल र स्वास्थ्य संस्थाहरुको उच्चस्तरीय निरीक्षण तथा अनुगमन:

क्वारेन्टाइन र आईसोलेसन स्थानीय निकायले ब्यबस्था गर्ने भएपनि त्यसमा कति मानिस राखिएका छन, त्यहाँ सरसफाइको ब्यबस्था कस्तो छ, Infection Prevention & Control system (आई.पि.एस.) को कस्तो ब्यबस्था हुनुपर्ने हो र हकिकतमा अबस्था कस्तो छ, क्वारेन्टाइन भित्र गरिएको सरसफाइको स्थितिलाई बाहिर बाट निगरानी गर्ने कस्तो ब्यबस्था गरिएको छ, त्यसमा कस्तो सुधार ल्याउन जरुरी छ, फोहोर ब्यबस्थापन कत्तिको बिश्वशनीय ढंगबाट ब्यबस्था गरिएको छ, ल्यान्डफिल प्रणाली (Landfill System) प्रयोग गरिएको छ कि जथाभावी फोहोर फाल्ने गरिएको छ, जथाभावी फोहोर फाल्ने गरिएको कारण वरिपरि को समुदायलाई तत्काल कस्तो असर पर्नसक्छ, भित्री तथा बाहिरी सरसफाइको लागि के कस्ता डिसईन्फेक्ट्यान्ट (Disinfectant) को प्रयोग गरिएको छ, त्यस्तै पटकपटक साबुनपानीले हात धुन मिल्ने ब्यबस्था र ह्यान्डस्यानिटाईजर (Hand Sanitizer) उपलब्ध गराईएको छ कि छैन, यिनको नियमित आपूर्ति भएको छ कि छैन, क्वारेन्टाइन र आईसोलेसन मा खटिएका कर्मचारीलाई आफूबाट अरुलाई र अरुबाट आफुलाई कसरी बचाउने भन्ने बिषयमा सामान्य स्वास्थ्य सम्बन्धि तालिम दिइएको छ कि छैन, क्वारेन्टाइन र आईसोलेसनमा रहेका मानिसहरू को मनोभाबात्मक अबस्था बुझ्ने, र मनोचिकित्सा सेवा दिने ( Psychiatric Treatment) ब्यबस्था गरिएको छ कि छैन, ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइन र आइसोलेसन बाट भाग्ने, आत्महत्या गर्न प्रयास गर्नुको कारण उनीहरुमा बिपरित परिस्थितिले सृजना गरेको मानसिक रोगको बृध्दिको कारणले हो बा क्वारेन्टाइन र आईसोलेसनको अब्यबस्थाको कारणले हो, त्यस तर्फ कसको ध्यान जानुपर्ने हो, त्यसलाई रोक्नको लागि अहिलेसम्म के कदम चालिएको छ, क्वारेन्टाइन र आईसोलेसन विश्व स्वास्थ्य संस्थाको मापदण्ड अनुरुप छन् कि छैनन् , क्वारेन्टाइन र आईसोलेसन मा बिरामी भएकाले समयमै उपचार पाउन सकेका छन् कि छैनन् , दीर्घ रोगी, पुरानो रोगको लागि नियमित औषधि खानुपर्ने समुहको स्वास्थ्य जाच, उपचार र औषधिको लागि कस्तो ब्यबस्था गरिएको छ, कमजोर र असहाय समुहको लागि कस्तो ब्यबस्था गरिएको छ,क्वारेन्टाइन र आईसोलेसन मा नियमित तालिकामा हुनुपर्ने कोरोनाको टेष्ट हुन सकेको छ कि छैन, कोरोनाको टेष्ट पोजिटिभ देखिएको अबस्थामा तत्काल क्वारेन्टाइन बाट आईसोलेसन मा सार्ने काम तदारुकता का साथ हुन सकेको छ कि छैन, पोजिटिभ मानिसलाई आईसोलेसन मा सार्ने काम ढिलो हुँदा अन्य स्वस्थ मानिसलाई कोरोना रोग सर्यो भने जवाफदेही हुनुपर्ने निकाय कुन हो, क्वारेन्टाइन लाई स्वास्थ्य मैत्री बनाई त्यसमा न्युनतम सुधार गर्न के गर्न सकिन्छ, के कस्तो  निर्देशन दिएको खण्डमा स्थितिमा सुधार ल्याउन सकिन्छ, कार्यान्वयन तहमा के कस्ता समस्या छन्  , WHO ले जारी गरेको अन्तरिम गाईडलाईन अनुरुप जस्ताको त्यसतै ब्यबस्था गर्न गाह्रो परे पनि त्यसको मुल मर्म नछुटोस भन्ने संकल्पको लागि सके सम्म कम समय, कम स्वास्थ्य जनशक्ति र राज्यलाई कम आर्थिक भार पर्ने गरि कुनै हालमा पनि रोग नियन्त्रण गर्ने कार्यमा कमजोरी हुने स्थिती नआवस र रोग फैलिन बाट रोक्न सकियोस भन्ने मुल मन्त्रलाई सघाउ पुर्याउन र त्यसलाई गति दिनको लागि कहिलेकाही उच्चस्तरको निरिक्षण र सुपरभिजन ले ठूलो महत्व राख्दछ। धेरै खर्छ नलाग्ने तर हेर्दा साना लागे पनि रोग नियन्त्रण कार्यमा अत्यन्त ठूलो र दुरागामी प्रभाब पार्न सक्ने कुरा लाई ब्यबहारमा कार्यान्वयन तहमा नछुटोस भन्नको लागि प्रदेशका सम्बन्धित मन्त्रालयका उच्च नेतृत्वको निरिक्षण, अनुगमन र निर्देशन अत्यन्त ठूलो महत्वपूर्ण हुन्छ। कार्यान्वयन तहको समस्या, कसरी समयमा नै सम्बोधन गरेको अबस्थामा प्रकोप लाई ठाउँमा नै नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा यथार्थ स्थिति बुझ्न कम्तीमा पनि प्रदेशका सम्बन्धित बिभागिय मन्त्री र सचिब बाट नियमित रुपमा निरीक्षण गर्ने, आफ्नो उच्च स्तरको ब्याबहारिक बुध्दी (Common Sense) प्रयोग गरि आबश्यक समन्वय गर्ने, निर्देशन दिने र समस्याको बेलैमा सम्बोधन गर्नको लागि फिल्डमा नै ब्याबहारिक निर्णय गरि उचित सुझाव बा निर्देशन दिने ब्यबस्था नियमित रुपमा हुन सक्यो भने क्वारेन्टाइन र आईसोलेसन लाई मापदण्ड अनुसार लागू गर्दै सफलता पुर्बक सञ्चालन गर्ने काममा सुधार हुनुको साथै लाखौं नागरिक लाई यस महामारी को कारणले मृत्युको मुखमा जानबाट बचाउन सकिने देखिन्छ।

६) स्वस्थ बानी ब्यहोराको निरन्तर प्रोत्साहन:

सुनेको कुरा बिर्सनु , ब्यक्तिगत बानी ब्यहोरा मा परिवर्तन गर्न समय लाग्नु स्वाभाविक मानबिय कमजोरी हुन। तर अहिलेको COVID-19 को महामारी को समयमा त्यो बिर्सने छुट हामी कसैलाई छैन। त्यस्ता बानी ब्यहोरा लाई प्रोत्साहन गर्न बा पटकपटक सम्झाउन को लागि क्वारेन्टाइन तथा आईसोलेसन सेन्टरहरु मा र लकडाउनको समयमा महत्वपूर्ण सबवे (Sub-Way) हरुमा बा सडकका मुख्य चोकहरुमा पनि नागरिकहरु ले कोरोना बाट बच्नको लागि सचेत रहनुपर्ने कुरा, स्वास्थ्य सम्बध्द बानी ब्यहोरामा सुधार गर्नुपर्ने कुरा, नागरिकलाई मास्क लगाउने र भौतिक दुरि कायम गर्न सम्झाउने कुरा, शंकास्पद लक्षण भएका मानिसहरु कतै देखिए सरकारलाई सुचित गर्ने कुरा र सरकारले रोग नियन्त्रणका लागि चालेका कदमहरु लाई सहयोग गर्नुपर्ने कुराहरुमा टेप रिकर्डको माध्यम बाट बिहान देखि साझ सम्म निरन्तर संदेश दिने ब्यबस्था भएमा बिर्सेर बा झुक्किएर गल्ती हुने सम्भावना कम हुनुको साथै सरकारले चालेका अन्य महत्वोपुर्ण नियन्त्रणका उपायहरु मा नागरिकको सचेतना र सहयोगमा वृद्धि गर्न थप बल मिल्न सक्छ।

७) अस्पतालका बेडहरु लगायत भौतिक पुर्बाधार तयारी राख्ने योजना:

हामीले देशमा अत्यन्त राम्रो अबस्था रहोस भन्ने आशा र कामना गर्दै खराब भन्दा खराब प्रतिकुल अबस्था आयो भने के गर्ने भन्ने आकलन गर्दै तयारीमा जुट्नै पर्दछ। आजको यो अबस्था कुनै साधारण अवस्था हैन। यो ठट्टा गर्ने समय पटक्कै हैन। हामी यसमा गम्भीर हुन सकेनौ बा सिकेनौ भने अझ गम्भीर अबस्था नआउला भन्न सकिन्न। यो हामीले कसैलाई दोष देखाउने बा कसैले दोष बा कमजोरी लुकाउने समय पनि हैन। हामीले सोच्ने, बोल्ने, गर्ने बा गराउने प्रत्येक साना ठुला काम कार्बाहीले यो बिश्व महामारी (Pandemic) को अबस्थामा ठूलो अर्थ राख्न सक्छ। हामीले योजनाबद्ध ढंगले  सुरक्षित क्वारेन्टाइन को संख्या, क्षमता र गुणस्तरमा वृद्धि गरि बढी भन्दा बढी कोरोना संक्रमित सम्भब भएसम्म र उनीहरुको अवस्था अनुरुप मिले सम्म CoV-19 भाईरस लाई हावा नछिर्ने आईसोलेसन कक्षहरुमा सिमित राख्दै अस्पतालका बेड र उपलब्ध आइसियु बेडहरुलाई कोरोनाका जटिल बिरामीहरु लाई राख्नको लागि कसरी तयारी राख्ने भन्ने बिषयमा अहिले देखिनै योजना र रणनीति बनाउन शुरु गर्नुपर्छ। जतिखेर अमेरिका, ईटाली, स्पेन जस्ता देशहरूमा कोरोना संक्रमित हुने र त्यसको कारणले मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भैरहेको थियो भारतमा पचास , असी, सय, हजारको संख्यामा मात्र सन्क्रमित हरुको वृद्धि हुने क्रममा थियो भने मृत्युु हुने एक जना पनि थिएनन् । हाम्रो नेपालमा जस्तै त्यहाँ पनि आश्चर्यका भाबहरु देखिएका थिए। विभिन्न अडकल बाजि लगाउनेहरु को कमि थिएन। त्यो भ्रमको स्थितिमा एक पत्रकारले  AIlMS Delhi का निर्देशक डा. गुलरिया लाई पनि भारतमा कोरोनाको कारणले मृत्युु दर नदेखिएको बारे प्रश्न राखेका थिए। उनको सामान्य जवाफ थियो यस कारणले नै हामीलाई अमेरिका, ईटाली जस्तो संकटको घडि आएको अबस्था मा हामीले बिरामीको सर्बोत्तम उपाय बाट उपचार र ब्यबस्थापन कसरी गर्ने, कसरी अध्ययन अनुसन्धान लाई पनि संगसंगै लैजाने, कसरी मृत्यु दर लाई न्युनतम बिन्दुमा राखेर नागरिक र देश लाई क्षेती हुनबाट बचाउने, आबश्यक जनशक्तिको ब्यबस्थापन र पुर्बाधार खडा गर्ने भन्ने याबत सबै किसिमको आफ्नो तयारी गर्नको लागि समय मिलेको छ; र आज हामी तयारीको मजबुत स्थितिमा छौँ ।

हुन पनि भारतले टेष्ट को क्षेमता तथा दायरा मा वृद्धि गर्ने काममा; क्वारेन्टाइन, आईसोलेसन को संख्या, क्षेमता र गुणस्तरमा बृध्दी गर्ने काममा; अस्पतालका ईमर्जेन्सी कक्ष, अबजर्भेसन र वार्ड का बेडहरु र आईसियुको संख्या, क्षेमतामा बृध्दी गर्ने काममा; सघन उपचारको लागि आबश्यक मोनिटर, डिफाईबृलेटर, भेन्टिलेटर को ब्यबस्थापन गर्ने काममा; आबश्यक तालिम प्राप्त चिकित्सक तथा नर्सहरुको ब्यबस्थापन गर्ने काममा; कस्ता बिरामी लाई कहाँ कसरी राख्ने, बिरामीको अबस्था अरु बिगृएमा बा सुधार आएमा कसरी कुन बाटो प्रयोग गरी ब्यबस्थापन गर्ने; अस्पतालको हातामा लासहरुको कसरी ब्यबस्थापन गरि त्यसबाट अरुलाई रोग सार्न र फैलिनबाट बचाउने, आदि जस्ता गम्भीर अर्थ राख्ने साना साना मुद्दाहरूको बारेमा योजना बनाउने, त्यस अनुसार ब्यबस्था गर्ने, रणनीति बनाउने र बिपद ब्यबस्थापनको लागि प्राक्टिस गर्ने काममा केन्द्रिय सरकार देखि राज्य सरकार हरुले एक मत र ध्यानका साथ आफ्नो पुरै शक्ति र समय होमेका छन् ।

प्रदेशका स्वास्थ्य मन्त्रीहरु समेत स्वास्थ्य सचिब र अन्य उच्च अधिकारीहरुको टिमका साथ आफै खटिएर क्वारेन्टाइन, आईसोलेसन र AIIMS, PGI लगायतका सबै अस्पतालहरु मा नियमित रुपमा आफै पुगेर अस्पतालका वार्ड, ईमर्जेन्सी, आईसियु र शब गृह लगायत सबै कक्षहरुको निरीक्षण गर्ने, अस्पतालको योजना र रणनीति बुझ्ने, साना साना तर ठूलो महत्व राख्ने कुराहरु बारे उत्सुकताका साथ प्रश्न राख्ने, छलफल गर्ने, त्यसमा आफ्नो धारणा राख्ने र उचित लागेको सल्लाह र निर्देशन दिने काममा खटिएका थिए। आज एक अरब २५ करोड जनसंख्या भएको भारतमा संक्रमितको संख्या १ लाख ५८ हजार ४ शय १५  पुग्दा मृत्यु हुनेको संख्या ४ हजारमा ५ शय ३४ सिमित छ। हामीले कुनैपनी देशको राम्रो कुरा सिक्नु पर्दछ। हामीले पनि ठोस योजना, जनशक्ति तथा भौतिक संरचनाहरु को ब्यबस्थापन, महामारी संग लड्ने रणनीति र बिपद अबस्थाको ब्यबस्थापन कसरी पूरा गर्ने भन्ने बारे हरेक आइसोलेशन सेन्टर, हरेक अस्पताल र आईसियु तथा शल्य कक्षमा संक्रमित बिरामीहरुको संख्या थेग्न नसक्ने भयो भने कसरी ब्यबस्थापन गर्ने भन्ने बारेमा सोच बनाई हरेक कुराको अहिले देखि नै ब्यबस्थापन गर्दै त्यसको रिहर्सल गर्नु आबश्यक देखिन्छ।

अन्तमा COVID-19 बाट डराउने, तर्सिने बानी  पटक्कै पटक्कै गर्नु हुदैन; त्यसो भन्दैमा हामीले कुनै किसिमको लापरबाही पनि गर्न हुँदैन। हामीले यसमाथि बिजय प्राप्त गर्न दृढ इच्छाशक्ति राख्नै पर्छ। कोरोना कसैलाई सर्दैमा सबैको मृत्यु हुने पनि हैन। बिस प्रतिशत लाई अस्पतालमा भर्ना गर्नु पर्न सक्छ। तीन देखि पाँच प्रतिशत लाई आईसियु सेवा दिनुपर्ने हुन सक्छ। धेरै जसो मृत्यु तीन प्रतिशत भन्दा कममा भएको देखिन्छ। संक्रमण भयो भने पनि समयमा नै चिकित्सक को सल्लाह लिई त्यसको पालना गर्दै उच्च मनोबलको साथ स्वस्थ बानी ब्यहोरा अपनाउन सक्यौं भने हामीले यसमाथि बिजय हासिल गर्न सक्ने छौँ । त्यस्तै यो रोग नियन्त्रणको लागि सरकारले चालेका कदमहरु लाई आत्मसात गर्दै साथ र सहयोग गर्यौ भने हामीले आफ्नो र हामी सबैको क्षेती हुन बाट बचाउन सक्ने छौँ र यश महा-बिपत्ति माथी बिजय हासिल गरेर नै छोडने छौँ ।

#Covid-19 #Mainpower #Pandemic #common sense #psychiatric treatement  #Hand Sanitizer #Disinfectant #Landfill system  #motivated #contact Tracing #contact surveillance #Flue like illness #prevention health Service

Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने

Next Post

एकैदिन १७० जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या १२१२ पुग्यो #Covid19

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 days ago
843
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
Next Post
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

एकैदिन १७० जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या १२१२ पुग्यो #Covid19

Comments 1

  1. Pingback: कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वस्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु बारे • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.