महिलामा बढ्दो स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सी एफ सी हेल्थ सोलुसन प्रा.लि.को आयोजनामा बुटवलमा स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक, व्यवसायिक क्षेत्रका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतको दिल्ली स्थीत BLK-Max Hospital, का Director – Surgical Oncology डा. प्राञ्जल कुलश्रेष्ठले स्तन तथा पाठेघर क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान, समयमै परीक्षण तथा आधुनिक उपचार पद्धतिका विषयमा प्रभावकारी प्रस्तुति दिनुभएको थियो ।
संवाद कार्यक्रममा सहभागीहरुले स्तन तथा पाठेघर क्यान्सरसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । सहभागीहरूले सफल उपचार, उपचार खर्च, उपयुक्त उपचारस्थल तथा रोगबाट बच्न अपनाउनुपर्ने सतर्कताका विषयमा प्रश्न राखेका थिए । डा. कुलश्रेष्ठले सहभागीका जिज्ञासाको सरल र प्रभावकारी ढंगबाट जवाफ दिनुका साथै सम्बन्धित विषयमा विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।
सी एफ सी हेल्थ सोलुसनका सञ्चालक एल.पी. पाण्डेले महिलामा क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सी एफ सी हेल्थ सोलुसन , सामाजिक स्वास्थ्य शिक्षा सहज रुपमा उपलब्ध गराउने तथा भारतमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य उपचार सेवाको प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले बुटवलमा स्थापना गरिएको हो ।
कार्यक्रमले महिलाहरुलाई नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान तथा समयमै उपचारप्रति सचेत गराउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।






