पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारमा नयाँ रेकर्ड राखेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल ‘एन्जियोप्लाष्टी’ गरि नयाँ रेकर्ड कायम गरेको हो।
अस्पतालले एकैदिन एकै परिवारका आमा र छोरा, जसलाई एकै समयमा हृदयघात (हार्ट अट्याक) भएको थियो, उनीहरूको पनि सोही दिन सफलतापूर्वक एन्जियोप्लाष्टी सम्पन्न भएको छ। गम्भीर अवस्थामा अस्पताल पुगेका आमा-छोरा दुवैको सफल उपचारपछि उनीहरूको जीवन रक्षा भएको अस्पतालले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
यो रोग अत्यन्तै संवेदनशील र जटिल मानिने मुटुको शल्यक्रिया (क्याथल्याब सेवा) मार्फत एकैदिन यति धेरै बिरामीको उपचार हुनुलाई पोखराको मात्रै नभइ देशकै स्वास्थ्य क्षेत्रमा ठूलो सफलताका रूपमा हेरिएको छ।
अस्पतालले मानव जीवन रक्षाको यस चुनौतीपूर्ण कार्यमा अहोरात्र खटिएका मुटुरोग विशेषज्ञ चिकित्सकहरू, नर्सिङ स्टाफ तथा क्याथल्याब टिमको योगदानको अहिले चौतर्फी प्रशंसा भइरहेको छ। अस्पताल प्रशासन र स्थानीयले यस सफल कार्यका लागि संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन्।






