भक्तपुर क्यान्सर अस्पतालको टोलीले मधेश प्रदेश विभिन्न जिल्लामा महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यान्सर स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
अस्पतालका अनुसार वैशाख २६ गते बारा जिल्लाको कोल्हवीमा शिविर सञ्चालन गरिएको थियो भने वैशाख २८ गते धनुषाको रुपहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो।
शिविर कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड तथा Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ बागमती क्यान्सरको सहयोग रहेको अस्पतालले जनाएको छ।
उक्त शिविरमार्फत हालसम्म एक हजारभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिइसकेको र मधेश प्रदेशपछि सुदूरपश्चिम प्रदेशसहित देशका अन्य विभिन्न स्थानमा पनि यस्ता कार्यक्रम विस्तार गरिने अस्पतालले जानकारी दिएको छ।
क्यान्सर अस्पतालले वर्षैभरि उपत्यका आसपासका क्षेत्र तथा देशका विभिन्न जिल्लामा क्यान्सरसम्बन्धी जनचेतना, स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






