बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेय प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूहअन्तर्गत अधिकृतस्तर एघारौँ तहको प्रमुख कन्सलटेन्ट मेडिकल जनरलिष्ट पद (एक) का लागि लिइएको लिखित परीक्षा तथा अन्तर्वार्ताको नतिजाका आधारमा डा. पाण्डेयलाई एघारौं तहमा सिफारिस गरेको हो ।
आयोगका अनुसार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सम्पन्न मूल्यांकनमा डा. पाण्डेय उत्कृष्ट अंकसहित अग्रस्थानमा रहनुभएको थियो । डा. पाण्डेयको नाम अन्तिम सिफारिस सूचीमा समावेश गरिएको आयोगले जनाएको छ ।
डा. पाण्डेय पछिल्ला केही वर्षदेखि बर्दिया अस्पतालको नेतृत्व सम्हाल्दै आउनुभएको छ । उहाँको नेतृत्वमा अस्पतालले सेवा विस्तार, व्यवस्थापन सुधार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रदेश तथा राष्ट्रिय स्तरमै पुरस्कार प्राप्त गर्दै आएको छ ।
विशेषगरी अस्पतालमा विशेषज्ञ सेवा विस्तार, बिरामीमैत्री वातावरण निर्माण, सेवा प्रवाहमा सुधार तथा संस्थागत व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यमा डा. पाण्डेयको भूमिका महत्वपूर्ण रहेको थियो ।
बर्दिया अस्पतालले पछिल्ला वर्षहरूमा प्रदेशकै नमुना स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ । सीमित स्रोत साधनका बीच पनि सेवा प्रभावकारिता बढाएको भन्दै अस्पतालले विभिन्न तहबाट सकारात्मक मूल्यांकन प्राप्त गरेको छ ।






