किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल अन्तर्गतको किष्ट ट्रान्सप्लान्ट सेन्टरले अंगदानमार्फत जीवन बचाउन योगदान गर्ने व्यक्तिहरूको सम्मान तथा कृतज्ञता प्रकट गर्न बुधबार भव्य ‘अर्गान डोनर सम्मान कार्यक्रम’ आयोजना गरेको छ। अस्पतालका अनुसार कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको हो।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए। उनले अंगदानलाई मानवताको सबैभन्दा महान कार्यमध्ये एक भन्दै अंगदाता समाजका सच्चा नायक भएको बताए। “एउटा अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर अझ प्रोत्साहन गर्न आवश्यक छ,” उनले भने। साथै उनले नेपालमा निजी स्वास्थ्य क्षेत्रमा ट्रान्सप्लान्ट सेवामा किष्ट मेडिकल कलेज अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरे।
अस्पतालका अनुसार किष्ट मेडिकल कलेज अस्पताल, ग्वार्कोले पछिल्लो पाँच वर्षमा निजी क्षेत्रमै ट्रान्सप्लान्ट सेवामा अग्रणी भूमिका निर्वाह गर्दै उच्च सफलताका साथ सेवा दिँदै आएको छ। हालसम्म अस्पतालले २०२ वटा किड्नी ट्रान्सप्लान्ट र १५ वटा लिभर ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। अस्पतालले यसलाई “दोस्रो जीवन” प्रदान गर्ने सेवा भन्दै उल्लेख गरेको छ।
अस्पतालले आफू नेपालमै सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने निजी अस्पताल भएको दाबी समेत गरेको छ। साथै, अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा मान्यता प्राप्त NABH एक्रिडिटेसन पाएको जानकारी दिएको छ।
किष्टले किड्नी तथा लिभरको एकैसाथ प्रत्यारोपण, दुई परिवारबीच पेर्ड अंग आदान–प्रदान प्रत्यारोपण, तथा ल्याप्रोस्कोपिक प्रविधिबाट न्यून आक्रामक प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको पनि जनाएको छ।
अस्पतालका अनुसार किष्ट मेडिकल कलेज अस्पताल नेपालमै पहिलोपटक एकैसाथ किड्नी र लिभर ट्रान्सप्लान्ट शल्यक्रिया सफलतापूर्वक गर्ने अस्पतालसमेत हो। यो उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९/८० मा समेत उल्लेख गरिएको अस्पतालले जनाएको छ।
हालसम्म प्रत्यारोपण गरिएका बिरामीमध्ये सबैभन्दा वृद्ध ८० वर्षका र सबैभन्दा कान्छा १९ वर्षका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ। साथै, क्यान्सर रोगबाट पीडित ८० वर्षीया एक महिलाले चिकित्सकीय रूपमा अंगदान गर्न योग्य रहेको अवस्थामा आफन्तको जीवन बचाउन महत्वपूर्ण योगदान दिएको उदाहरणसमेत प्रस्तुत गरिएको छ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विशेषज्ञ, चिकित्सक, ट्रान्सप्लान्ट सर्जन, अंगदाता, बिरामी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, काठमाडौँ उपत्यकाका केही नगर प्रमुख तथा उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहेको अस्पतालले जनाएको छ।






