काठमाडौं, १० असोज २०८२
सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका छन् ।
डा. जोशीलाई प्रविधिको भविष्यसँग जोडिएका इन्टरनेट अफ थिङ्स (IoT), वायरलेस सेन्सर नेटवर्क र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता क्षेत्रहरूमा अनुसन्धानको विश्वव्यापी प्रभावलाई मान्यता दिएको हो ।
जसले वार्षिक रूपमा अद्यावधिक हुने यो सूचीले वैज्ञानिकहरूको प्रकाशित कार्यहरूको उद्धरण (Citation) विश्लेषण गरी तिनको प्रभावलाई हेर्छ। डा. जोशी यस सुचिमा पर्नुले उनको सम्पूर्ण करियरभरिको अनुसन्धानको असर र महत्त्वलाई जनाउँछ ।
डा. जोशीको यात्रा
सुदूरपश्चिम प्रदेशको डोटी जन्मिएर आफ्नो बिद्यालय शिक्षा पुरा गरे । काठमाडौंबाट स्नातक गरेका उनि सन् २००४ मा गणतन्त्र कोरिया गएर वायरलेस इन्जिनियरिङ्ग क्षेत्रमा पीएचडीको अध्ययन पुरा गरि त्यहीँ आफ्नो प्रतिष्ठित शैक्षिक करियर निर्माण गरे ।
डा. जोशीले गणतन्त्र कोरियाका युङनाम युनिवर्सिटी र सेजोङ युनिवर्सिटी जस्ता प्रमुख विश्वविद्यालयहरूका साथै अमेरिकाको केस वेस्टर्न रिजर्भ युनिवर्सिटीमा शिक्षण गरेका छन् । उनी हाल गणतन्त्र कोरियाकै काङवोन राष्ट्रिय विश्वविद्यालयमा एसोसिएट प्रोफेसर (टेन्योर ट्र्याक) को रूपमा कार्यरत छन् ।
डा. जोशीको अनुसन्धान आधुनिक कनेक्टिभिटीको अग्रणीमा पर्छ, जसको मुख्य उद्देश्य वायरलेस संचारलाई अझ कुशल, सुरक्षित र बुद्धिमान बनाउने हो । उनको अनुसन्धानका प्रमुख क्षेत्रहरूमा वायरलेस सेन्सर नेटवर्क, कग्निटिभ रेडियो, नेटवर्किङमा कृत्रिम बुद्धिमत्ता (AI) जस्ता बिषयहरू पर्दछन । डा. जोशीको अनुसन्धान विश्वका प्रमुख अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् र विश्वभरका वैज्ञानिकहरूद्वारा हजारौं पटक उद्धृत गरिएका छन् ।
डा. जोशीलाई यो सम्मानले मात्र होइन, बरु विदेशमा रहेका अरू नेपाली विद्वानहरूको सम्भावनालाई समेत प्रकाशमा ल्याउँछ । यसले देशभित्रै अनुसन्धान र उच्च शिक्षालाई सहयोग गर्नुको महत्त्वलाई जोड दिन्छ । डा. जोशीको सफलताको कथाले नेपालको सुदूर कुनाबाट सुरु गरेर पनि विश्वस्तरीय मान्यता हासिल गर्न सकिन्छ भन्ने कुराको एउटा शक्तिशाली उदाहरण हो ।
स्ट्यानफोर्ड-एल्सेभियर शीर्ष २% सूची के हो ?
स्ट्यानफोर्ड युनिवर्सिटीका विशेषज्ञहरूद्वारा तयार पारिएको र एल्सेभियरले प्रकाशित गरेको यो डाटाबेसले वैज्ञानिकहरूलाई स्ट्याण्डर्डाइज्ड साइटेसन मेट्रिक्सको आधारमा सुचिकृत गर्दछ । यसले एक जना अनुसन्धानकर्ताको सम्पूर्ण करियरको उपलब्धि र एक वर्षभरिको प्रभावलाई विचार गर्दछ । शीर्ष २% मा पर्नुले आफ्नो विशिष्ट वैज्ञानिक क्षेत्रभित्र निज अनुसन्धानकर्ताको असाधारण प्रभावलाई जनाउँछ।