धादिङ,०६ पौष २०७७
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र डा. त्रिभुवन चन्द्र झाको सक्रियतामा ४४ वर्ष पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहित सघन. उपचार कक्ष शुरु भएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आइसियुको औपचारिक समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री दुलालले अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरीरहेको बताउनु भएको छ ।
नागरिकहरुलाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री दुलालले धादिङ अस्पतालबाट थप सेवा विस्तार गरिदै जाने बताउनुभयो । धादिङ अस्पतालमा यही वर्षदेखि सुरु गर्ने गरि डायलसिस, मुटु रोग सम्बन्धि सेवा विस्तार गरिने बताउनुभयो ।
यसैगरी आफ्नो भनाई राख्दै मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुबन चन्द्र झाले आइसियु सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीले पनि जिल्लाभित्रै सेवा पाउन सक्ने बताउनुभयो । यसअघि विभिन्न रोग तथा संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई आइसियु नहुँदा काठमाडौं नै रेफर गर्नुपर्ने बाध्यता हटेको भन्दै उहाँले गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
डा. झाले हाल २ वटा भेन्टिलेटर सहित ८ शैंयाको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा १० शैंयाको पुर्याइने बताउनुभयो । बाग्मती प्रदेशअन्तर्गत भक्तपुर र हेटौडा पछि धादिङ अस्पतालमा भेन्टिलेटर सहितको सेवा शुरु भएको तेस्रो अस्पताल हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य रहेको थियो । बागमती प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको बिशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधी, सङ्घसंस्थाका प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।
सो अवसरमा डा. झा द्वारा आर्थिक वर्ष २०७६/०७७ मा अस्पतालले गरेको आर्थिक तथा भौतिक प्रगतिको बारेमा अन्य सेवा विस्तारहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो।
Comments 3