काठमाडौं, २९ पुष २०७७
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको खचाखच भिड बढेको छ। देशका विभिन्न ठाउँ अर्थात मेची देखि महाकाली सम्मका स्वास्थ्य सेवाका कर्मचारीहरू स्तरवृद्धिका लागि निवेदन दिन स्वास्थ्य सेवा विभाग टेकु आएका छन्।
हरेक आर्थिक वर्षको पुस र असार महिनामा स्तरवृद्धिका लागि निवेदन दिने व्यवस्था स्वास्थ्य सेवा ऐन २०५३ मा छ। विभागले गत वर्ष निवेदन दिएका कर्मचारीमध्ये स्तरवृद्धि भएकाहरूको सूचना प्रकाशन गरिरहेको छ।
२०७६ सालको पुस महिनामा दर्ता भएकामध्ये नर्सिङ र पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धिको सूचना प्रकाशित गरिसकेको छ। तर असारमा दर्ता भएका निवेदनहरूको स्तरवृद्धि भने सार्वजनिक भएको छैन।
तर, कर्मचारीले मन्त्रालयले निवदेन लामो समयसम्म पनि स्तरवृद्धि गर्ने कार्य नगरेको गुनासो गरेको छ।
‘आव २०७६ असारमा दिएको निवेदनको अझै नतिजा आएको छैन। यसले कर्मचारीको मासिक तलब, सञ्चय कोष र वरिष्ठातामा समेत गम्भीर असर परेको छ,’ प्रदेश ७ बाट स्तरवृद्धिको निवेदन दर्ता गर्न आएका एक कर्मचारीले भने।
स्वास्थ्य मन्त्रालयले भने २०७६ असारमा निवेदन दर्ता गराएका करिब ४५० कर्मचारीको स्तरवृद्धिको काम बाँकी रहेको जनाएको छ।
हरेक कर्मचारीले ५ वर्षमा स्तरवृद्धि लागि निवेदन दिन पाउने व्यवस्था छ। जसमा अनिवार्य रुपमा दुर्गममा सेवा गरेको हुनुपर्छ।
मुलुक संघीयतामा गएपनि ससाना कामका लागि स्वास्थ्य सेवा तर्फका कर्मचारीले भने संघीय कार्यालय धाइरहनुपर्ने अवस्था अन्त्य भएको छैन।
स्वास्थ्य सेवाका कर्मचारीहरूले भने स्वास्थ्यका सबै संरचना र आफूहरूलाई संघमातहत राखिनुपर्ने माग गर्दै आएका छन्।
Comments 1