काठमाडौं , ०८ पौष २०७७
वीर अस्पतालमा सर्जिकल भवन फागुन देखि सन्चालनमा आउने निर्णय भएको छ।
अस्पतालको नयाँ सर्जिकल भवन सञ्चालनका लागि थप ८ सयको हाराहारीमा जनशक्ति आवश्यकता पर्ने भएपछि दरबन्दी सिर्जना गरिन लागिएको हो।
जनशक्ति थपका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरिएको अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिए।
‘नयाँ सर्जिकल. भवनमा सेवा सञ्चालनका लागि थप ८ सय जनशक्ति चाहिन्छ,’ डा. सेञ्चुरीले भने, ‘त्यसका लागि हामीले समान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छौं।’
उनका अनुसार मन्त्रालयले दरबन्दीका लागि काम गरिरहेको छ। छिट्टै विज्ञापन आह्वान हुनेछ।
डा. सेञ्चुरीले नवनिर्मित सर्जिकल भवनमा फागुनबाट सेवा दिने तयारी रहेको बताए।
उक्त भवन १७ रोपनी क्षेत्रफलमा बनेको छ। जहाँ ५ सय १० बेड हुनेछन्।
‘भवनको काम ९० प्रतिशत भन्दा बढी सकिसकेको छ। बाँकी काम पनि तीव्र्र गतिमा भइरहेकोे छ,’ डा. सेञ्चुरीले भने, ‘ फागून पहिलो साताबाट सेवा सञ्चालन ल्याउने तयारीमा छौँं।’
कुन—कुन सेवा उपलब्ध हुन्छन त ?
सो भवनको शिलान्यास २५ फागून २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
यो भवनमा जमिनमुनि दुई तला र माथि सात तला छन्। भवनबाट सर्जरी सेवा मात्र उपलब्ध हुनेछ।
‘जनरल, न्यूरो, युरो, हाडजोर्नी तथा ग्यास्ट्रो लगायतका सर्जरी नयाँ भवनमा हुनेछ,’ डा. सेञ्चुरीले भने, ‘अन्य सेवा भने हामी पुरानो भवनबाट दिनेछौं।’
१५ वटा मेजर ओटी कक्ष राखिने छ। २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछ।
त्यसैगरी, अरु सिंगल तथा डबल क्याबिन तथा जनरल कक्ष राखिनेछ। सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआई जस्ता अत्याधुनिक मेसिन राखिनेछ।
अस्पताल प्रशासनका अनुसार भवनको छैटौं तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यालय राखिने छ।
तेस्रो तल्लाको एउटा कर्नरमा वाणिज्य बैंकको काउन्टर तथा फार्मेसी रहने छ।
भवनको कुल लागत लागि २ अर्ब २६ करोड रहेको छ।
भवन निर्माण नेपाल सरकारको लगानीमा भएको हो
Comments 3