सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–५, थलाराका धामीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका डा. धामीले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
डा. धामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दन्त शल्यचिकित्सा (बीडीएस) अध्ययन पूरा गरेका हुन्।
अमृत साइन्स क्याम्पस, काठमाडौंमा आईएस्सी अध्ययन गरेका धामीले चिकित्सा शिक्षा, पाठ्यक्रम विकास, अनुसन्धान तथा प्राध्यापक क्षमता विकासका क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्।
डा. धामी ‘A Guide to Be a Medical Teacher: Basic Principles of Medical Education’ पुस्तकका लेखकसमेत हुन्।
औषधि विज्ञान, चिकित्सा शिक्षा, औषधिको तर्कसंगत प्रयोग तथा स्वास्थ्य अनुसन्धानसम्बन्धी उनका विभिन्न अनुसन्धानमूलक लेख प्रकाशित छन्।








