बिम्स्टेकको संरचनाभित्र क्षेत्रीय रेडियोलोजी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा आयोजित रेडकन २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय रेडियोलोजिस्ट, विशेषज्ञ तथा क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न यस सम्मेलनलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
सम्मेलनको सुरुवात भव्य तथा सांस्कृतिक वातावरणमा गरिएको थियो। धिमे बाजा, मारुनी र लाखे नृत्यजस्ता परम्परागत प्रस्तुतीमार्फत अतिथिहरूको स्वागत गरिएको थियो, जसले कार्यक्रमलाई उत्सवमय र गरिमामय बनाएको थियो। कार्यक्रमको नेतृत्व आयोजक अध्यक्ष डा. तेजेन्द्र कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका र थाइल्याण्डका राष्ट्रिय गान बजाई क्षेत्रीय एकताको सन्देश दिइएको थियो। त्यसपछि प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूले दियो प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको थियो।
सम्मेलनका क्रममा रेडियोलोजी क्षेत्रमा ज्ञान आदानप्रदान, अनुसन्धान विस्तार तथा आधुनिक प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको थियो। वैज्ञानिक सत्रहरू, कार्यशाला तथा विशेषज्ञ प्रस्तुतिहरूले सहभागीहरूलाई नयाँ अनुभव र सिकाइ प्रदान गरेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात वक्ताहरू डा. भाविन जङ्खारिया, डा. सञ्जय सरन बैजल र डा. हृदेश साहनीलाई सम्मान गरिएको थियो। साथै, डा. सुदीप के.सी. लाई एनआरए फेलोसिप अनुदान प्रदान गरिएको थियो, जसले अनुसन्धान र उत्कृष्टतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यसै अवसरमा प्रसूति अल्ट्रासाउन्डसम्बन्धी मापदण्ड निर्देशिका, एनआरए वार्षिक क्यालेन्डर २०८३ तथा एनआरएको युट्युब च्यानल सार्वजनिक गरिएको थियो, जसले डिजिटल माध्यममार्फत ज्ञान विस्तार गर्ने प्रयासलाई बल पुर्याएको छ।
बिम्स्टेक सहकार्य अन्तर्गत डा. तेजेन्द्र कार्कीलाई बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्षमानिर्बाचित गर्दै उहालाई सम्मान समेत गरिएको थियो। सम्मेलनको अन्त्यमा ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आगामी आयोजक राष्ट्र भारतलाई बिम्स्टेक झण्डा हस्तान्तरण गरिएको छ। बिम्स्टेक (BIMSTEC) राष्ट्र भन्नाले बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड गरी सात देशहरू पर्दछन्। यी देशहरू बङ्गालको खाडी क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको बिम्स्टेक संगठनका सदस्य राष्ट्रहरू हुन्, जसले व्यापार, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा क्षेत्रीय विकास जस्ता विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रमको समापन आयोजक सचिव डा. सरोजराज के.सी.ले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो। समापनपछि सहभागीहरूबीच सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजमार्फत आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाइएको थियो।
रेडकन २०२६ ले क्षेत्रीय रेडियोलोजी अभ्यासलाई नयाँ दिशा दिँदै सहकार्य, अनुसन्धान र ज्ञान आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ।







