स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्ने बताएकी छन् ।
राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री मेहताले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताइन् । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने मेहताको भनाइ छ ।
मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन् ।
देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न सङ्घीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको मन्त्री मेहताले बताइन् ।
त्यसैगरी, ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा उनले जोड दिइन्।
दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको महेताले बताइन् ।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै निष्कर्षमा पुर्याइने बताइन्।








