चौधरी ग्रुप अफ इन्डस्ट्रिजका Business Development Manager (Health) डा. मुकेश पोखरेलसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) र चौधरी ग्रुपबीच आगामी दिनमा हुन सक्ने सहकार्य, आपसी सहयोग तथा पारस्परिक समझदारीका विषयमा सौहार्दपूर्ण एवं सकारात्मक छलफल भएको छ।
उक्त अवसरमा प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. बिनम्र बिष्टको प्रमुख उपस्थितिमा प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचार सेवा तथा संस्थागत विकासमा निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान गरेको छ।
साथै, प्रतिष्ठानको शल्यचिकित्सा विभाग तथा बर्न युनिटको जिम्मेवारी सम्हालिरहनुभएका सहप्राध्यापक डा. मुकेश जसवालको समेत विशेष उपस्थिति रहेको थियो।
विशेषगरी प्रतिष्ठानमा Burn Unit (जलन उपचार इकाइ) को विकास, विस्तार तथा प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य का विषयमा सकारात्मक छलफल भएको छ। यसका अतिरिक्त स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अन्य संस्थागत विकासका क्षेत्रमा समेत आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आपसी समझदारी र प्रतिबद्धता व्यक्त गरेका छ्न।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौधरी ग्रुप र दुर्गम कर्णालीमा विशिष्टीकृत स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको विकासमा समर्पित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सहकार्यले कर्णालीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा संस्थाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको प्रतिष्ठानका निर्देशक डा. बिनम्र बिष्टले बताए।
साझेदारी, सहकार्य र साझा प्रतिबद्धतामार्फत कर्णालीको स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको विकासमा नयाँ सम्भावनाहरूको खोजी हुने डा. बिष्टको भनाई छ।








